काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नहरुको जिम्मेवारी हेरफेर गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
गर्भनर अधिकारीले मंसिर २७ गतेदेखि लागु हुने गरी डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । गभर्नर मातहतमा रहेको आर्थिक अनुसन्धान विभागको जिम्मेवारी बमबहादुर मिश्रलाई दिइएको छ । त्यस्तै अर्की डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी दिइएको हो ।
राष्ट्र बैंक स्थापना हुँदा नै आर्थिक अनुसन्धान विभाग गठन भएकाले अनुसन्धान विभागलाई महत्वपूर्ण विभागका रूपमा लिइने गर्छ । राष्ट्र बैंकले हेरफेर गर्ने नीतिको विषयमा आर्थिक अनुसन्धान विभागले नै सुझाव दिने गरेको छ । यो विभागले प्रत्येक महिना देशको वर्तमान आर्थिक अवस्थाका बारेमा पनि प्रकाशन गर्ने गरेको छ ।
युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर भएपछि आर्थिक अनुसन्धान विभागलाई गभर्नर कार्यालय मातहत लगिएको थियो । चिरिञ्जीवी नेपाल गभर्नर भएपछि फेरि आर्थिक अनुसन्धान विभागलाई डेपुटी गभर्नर मातहत लगेका थिए । १३ महिनाअघि गभर्नर अधिकारीले पुनः आफ्नो मातहतमा ल्याएका थिए ।
राष्ट्र बैंकको डेपुटी मिश्रलाई बैंक सुपरीवेक्षण विभाग, वित्तीय संस्था सुपरीवेक्षण विभाग, मौद्रिक व्यवस्थापन विभाग, बैंकिङ विभाग र भुक्तानी प्रणाली विभागको जिम्मा दिइएको छ । यता अर्की डेपुटी गभर्नर निलम ढुुंगाना तिम्सिनालाई बैंक तथा वित्तीय संस्था नियमन विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, लघुवित्त संस्था सुपरीवेक्षण विभाग, गैरबैंक वित्तीय संस्था सुुपरीवेक्षण विभाग र प्रदेशस्थिति कार्यालयहरुको जिम्मा दिइएको हो ।
यसअघि बैंक तथा वित्तीय संस्था नियमन विभाग ढुंगाना र बैंक सुपरीवेक्षण विभागको जिम्मा मिश्रलाई दिइएको थियो । भुक्तानी प्रणाली विभागको जिम्मेवारी मिश्रको मातहतमा यथावत् राखिएको छ ।
यस्तै ढुंगानाको मातहतमा रहेको बैंक सुपरीवेक्षण विभाग मिश्रको मातहतमा सारिएको हो भने विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी ढुंगानाकोमा यथावत राखिएको हो । हाल गभर्नर कार्यालय, वित्तीय जानकारी एकाइ, आन्तरिक लेखा परीक्षण विभाग र कानुन महाशाखा गभर्नर अधिकारी मातहत राखिएको छ ।
यस्तै, डेपुटी गभर्नर मिश्रलाई मानव संशाधन व्यवस्थापन विभाग र वित्त व्यवस्थापन विभागको जिम्मा दिइएको छ । यसैगरी मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र सूचना प्रविधि विभाग ढुंगानाको मातहतमा राखिएको छ ।












प्रतिक्रिया दिनुहोस्