Skip to content
Prabhu

मंसिर महिनामा सेयर बजार ७१ अंकले घट्यो, कारोबार रकममा साढे ५ अर्ब बढीको गिरावट

nabil

काठमाडौं । मंसिर महिनामा सेयर बजार परिसूचकमा ७१ अंक भन्दा बढीले ओरोलो लागेको छ भने कारोबार रकममा पनि साढे पाँच अर्ब भन्दा बढीले कमी आएको छ । मंसिर महिनाको १९ दिनको कारोबारमा नेप्से परिसूचक ७१ दशमलव ३६ अंकले घटेको छ भने कारोबार रकम ५ अर्ब ५७ करोड ५९ लाख ९१ हजार १३० रुपैयाँले कमी आएको हो ।

मंसिर महिनाको १९ दिन कारोबार खुलेकोमा ८ दिन सेयर बजार बढेको थियो भने १० दिन घटेको थियो । नियमित बजार खुल्ने एक दिन मंसिर ३ गते सार्वजनिक बिदा परेकाले कारोबार भएन भने अरु बाँकी दिन सेयर बजार खुलेको थियो । मंसिर महिनाको पहिलो कारोबार दिन २ गते २७५३ दशमलव ७६ विन्दुमा रहेको सेयर बजार परिसूचक मंसिरको अन्तिम दिन २७ गते २६८२ दशमलव २९ विन्दुमा पुगेको थियो ।

मंसिर महिनामा सेयर बजारमा भारी गिरावट आएको छ । विचमा केही सुधार जस्तो देखिए पनि समग्रमा सेयर बजार परिसूचक मंसिरमा निकै घटेको हो । मंसिर महिनाको २ गतेको कारोबार दिन सेयर बजारमा ११ अर्ब ७२ करोड ५६ हजार ९०४ रुपैयाँको कारोबार भएको थियो । जुन मंसिर महिनामा भएको सबै भन्दा उच्च कारोबार हो । मंसिर २७ गतेको कारोबार बन्द हुँदा सेयर बजारमा ६ अर्ब १४ करोड ४० लाख ५६ हजार ७७४ रुपैयाँको मात्रै कारोबार भएको छ ।

सेयर बजारका लागि आवश्यक पर्ने सुचकहरु सकारात्मक हुँदा पनि सेयर बजार लगातार घटीरहेकाले अहिलेको बजारको विषयमा सेयर बजारका जानकारहरु नै अनविज्ञता प्रकट गरिरहेका छन् । अहिले बजार घट्नु पर्ने कुनै पनि कारण नरहेको भए पनि बजार घटीरहेनुलाई स्वाभाविक मान्न नसकिने स्टक ब्रोकर एसोसिएसनका निर्वतमान अध्यक्ष धर्मराज सापकोटाको भनाइ छ । ‘सामान्य हल्लाले पनि बजार घटबढ हुने भएकाले अहिले सरकार परिवर्तनको गाइगुई सुनिएकाले पनि बजारलाई असर गरेको हुन सक्छ,’ उनले भने । अहिले बजारका लागि आवश्य पर्ने धेरै कुराहरु सकारात्मक रहेको उनको भनाइ छ ।

अहिले बजारका लागि आवश्यक पर्ने अधिकांश सूचकहरु सकारात्मक भए पनि सरकार परिवर्तनको हल्लाका कारण पनि बजार घटेको नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलको भनाइ छ । ‘अहिले बजार घट्नु पर्ने खासै कारण छैन । तर बजारमा सरकार ढल्छ । अहिलेको अर्थमन्त्री बाहिरिनुहुन्छ भन्ने हल्लाका कारण पनि यो अवस्था आएको हुन सक्छ,’ उनले भनिन्,‘अहिले बैंकमा तरलता पनि पर्याप्त रहेको अवस्था छ । त्यस्तै बजारलाई बुझेको अर्थमन्त्री हुनुहुन्छ, सरकार पनि दुई ठूला दलहरु मिलेर बनेको अवस्था छ । सबै सकारात्मक नै छ ।’

अर्को तर्फ लगानीकर्ताहरुले नाफा सुरक्षित गर्न खोज्दा पनि बजारमा केही असर गरेको उनको भनाइ छ । अझै पनि बजारमा नीतिगत सुधारको आवश्यकता र स्थायी सरकारको पक्षमा लगानीकर्ता रहेको उनको भनाइ छ । सरकार वा अर्थमन्त्री फेरिदा बजारमा असर पर्नु पर्ने अवस्था नभए पनि नेपालको सन्दर्भमा त्यो हुने गरेको छ । अर्को तर्फ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा पनि कुनै कुरा समावेश नभएकाले पनि लगानीकर्ताहरुमा उत्साह नदेखिएको पोखरेलको भनाइ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal