काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न भएको छ । सूर्यज्योति लाइफले १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
जीवन बीमा मध्ये साधारणसभा सम्पन्न गर्ने सूर्यज्योति लाइफ पहिलो बनेको छ । कम्पनीहरले नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र अघिल्लो वर्षको साधारणसभा गरि सक्नु पर्ने प्रावधान छ । कम्पनीले आफ्नो १७औं वार्षिक साधारणसभा विराटनगरस्थित बिग होटलमा भव्य रूपमा सम्पन्न गरेको हो । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।
सभाले कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तावित २० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा भएका खर्चहरूलाई अनुमोदन गर्नुका साथै, सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको रूपमा सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ ।
सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ । कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, र नवीन सेवा विस्तारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कम्पनीको निरन्तर प्रगतिको श्रेय सेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ र कम्पनीका कर्मचारीहरूको मेहनतलाई दिए ।
साधारणसभाका दौरान, सेयरधनीहरूले कम्पनीप्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए । सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मतिले पारित गरिएका छन् । कम्पनीले आफ्नो सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता दोहोर्याएको छ ।
प्रतिक्रिया दिनुहोस्