काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा साढे ४ हजारवटा विद्युतीय सवारी आयात भएका छन् । भन्सार विभाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा ४ हजार ६९७ वटा चारपाङग्रे सवारी आयात भएका हुन् ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कार जिप र भ्यान गरी कुल ११ अर्ब २७ करोड रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएका छन् उक्त आयातबाट सरकारले ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
गत आर्थिक २०८÷८१ को सोही अवधिमा भने ९ अर्ब १० करोड रुपैयाँ बराबरको ३ हजार ६ सय ८६ वटा चारपाङ्ग्रे इलेक्ट्रोनिक गाडी नेपाल भित्रिएका थिए । उक्त आयातबाट सरकारले ४ अर्ब २ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष भित्रिएको गाडीको संख्या १ हजार ११ युनिट बढी हो ।
चालु आवको ५ महिनामा दुईपाङ्ग्रे सवारीको आयात पनि उल्लेख्य मात्रामा बढेको छ । हाल नेपाली बजारमा विभिन्न नयाँ ब्रान्डका दुईपांग्रे सवारीसाधन आइरहेका छन् । नयाँ–नयाँ ब्रान्डको इन्ट्री भएका कारण दुईपांग्रे सवारीसाधनको आयात दोब्बरले बढेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) मा ९७ हजार ७ सय ६१ युनिट मोटरसाइकल तथा स्कुटर नेपाल भित्रिएका छन् ।
यस अवधिमा ११ अर्ब २२ करोड ९१ लाख रुपैयाँ बराबरको ९३ हजार ९ सय ९१ युनिट इन्धन बाइक तथा स्कुटर नेपाल भित्रिएका छन् भने ४१ करोड ८८ लाख रुपैयाँ बराबरको ३८ सय १० युनिट विद्युतीय बाइक तथा स्कुटर भित्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्