Skip to content

बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति बढ्दै, वाणिज्य बैंकको मात्रै ३२ अर्ब ३३ करोड बढी

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ । आर्थिक गतिविधि शिथिल हुँदा त्यसको असर बैंक तथा वित्तीय संस्थामा देखिएको हो । अहिले बैंकिङ क्षेत्रमा निक्षेप बढिरहेको छ भने कर्जा प्रवाह भने निकै कम मात्रै भइरहेको छ ।

बैंकहरुमा अधिक मात्रामा तरलता हुँदा त्यसको व्यवस्थापनमा बैंकहरुलाई चुनौति देखिएको छ । उद्योगी व्यवसायीहरुले अहिले बैंकबाट नयाँ कर्जा लिएर व्यवसाय गर्न सक्ने वातावरण नभएको बताइरहेको अवस्थामा कर्जा प्रवाह निकै न्युन रहेको छ । अर्कोतर्फ बैंकहरुले विगतमा प्रवाह गरेको कर्जाबाट पनि बैंक तथा वित्तीय संस्थाहरूले नियमितरूपमा साँवा ब्याज असुली गर्न सकेका छन् । यो अवस्थामा कर्जा असुलीको लागि धितो लिलामीको प्रक्रियामा जाँदा पनि आर्थिक मन्दीकै कारण धितो बिक्री हुन सकेको छैन।

कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति बढेर ३८ अर्ब २६ करोड १० लाख रुपैयाँ पुगेको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा १६ अर्ब ३४ करोड ३० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रमा २१ अर्ब ९१ करोड ६० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूमा मात्र कुल ३२ अर्ब ३३ करोड ७० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ अर्ब ११ करोड ९० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल १८ अर्ब २१ करोड ८० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो ।

विकास बैंकहरूमा मात्र पछिल्लो अवधिमा ३ अर्ब ६६ करोड ३० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति छ । यो सम्पत्ति गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब २७ करोड ८० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूमा २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।

यसैगरी फाइनान्स कम्पनीहरूमा पनि पछिल्लो समय २ अर्ब २६ करोड १० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४ करोड ९० लाख रुपैयाँ बढी हो । गत वर्ष फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति १ अर्ब ३१ करोड २० लाख रुपैयाँ थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T