काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंकलाई पैसा व्यवस्थापनमा सकस बन्दै गएको छ । बैंकिङ प्रणालीमा पैसा थुप्रिँदै जाँदा केन्द्रीय बैंकलाई पैसा व्यवस्थापन सकस बन्द भएको हो ।
राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीबाट ठूलो रकम निक्षेपका रूपमा संकलन गरिरहेको छ । यो साताको आइतबार मात्रै केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ निक्षेप उपकरणमार्फत संकलनका लागि आह्वान गरेको थियो । बजारमा कर्जा प्रवाह सुस्त हुँदा बैंकमा रहेको रकम केन्द्रीय बैंकले खिच्दै आएको छ । आइतबार खिचिएको उक्त रकमको साँवा र ब्याज २१ दिनपछि भुक्तानी गरिने छ ।
केन्द्रीय बैंकले पुस लागेपछि मात्रै हालसम्म ६ पटक निक्षेप संकलन उपकरण जारी गरिसकेको छ । चालू आर्थिक वर्ष सुरु भएदेखि नै कर्जा विस्तार सोचेअनुसार हुन नसक्दा केन्द्रीय बैंकले बैंकहरुबाट निक्षेप संकलन गरिरहेको छ ।
चालु आर्थिक वर्षको हालसम्म राष्ट्र बैंकले ३७ पटक निक्षेप उपकरण जारी गरेर १३ खर्ब ८३ अर्ब १० करोड रुपैयाँ निक्षेप खिचेको छ । राष्ट्र बैंकले बैंकहरुमार्फत कर्जा जान छाडेपछि स्थायी निक्षेप सुविधा (सएडीएफ) को उपयोग गर्दै आएको छ । यो हप्ताको आइतबार मात्रै बैंकहरूले एसडीएफमार्फत १ खर्ब २२ अर्ब ५५ करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् ।
बैंकहरूले साउन १ गतेदेखि पुस २१ गतेसम्म ६९ पटक स्थायी निक्षेप सुविधा उपयोग गरेका छन् । बैंकहरुले यो अवधिमा १२३ खर्ब ३० अर्ब ८० करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । एसडीएफमा पैसा राख्दा बैंकहरूले ३ प्रतिशत ब्याज पाउने गरेका छन् ।
बैैंकहरूबीच हुने अन्तरबैंक कारोबारको ब्याजदर ३ प्रतिशतभन्दा तल झर्न नदिन निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिचिरहेको छ । तर, पनि प्रणालीमा अधिक तरलता कायमै रहेको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ६६ खर्ब ७५ अर्ब रुपैयाँ पैसा छ । यसमध्ये ५३ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेर कर्जा लगानी गर्न पाउँछन् । तर, अहिले बैंकहरूले ७९.०६ प्रतिशत मात्रै लगानी गर्न सकेका छन् । यस आधारमा प्रणालीमा अझै ६ खर्ब ४४ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ ।






प्रतिक्रिया दिनुहोस्