Skip to content

बैंक तथा वित्तीय संस्था डुब्दा ठूला सेयरधनीलाई जिम्मेवार बनाउने तयारी, व्यावसायिक सञ्चालक नहुँदा समस्या



nabil bank

काठमाडौं । करिब आधा दर्जन बैंकमा ठूलो रकम लगानी गरेका एकजना ठूला लगानीकर्तालाई राष्ट्र बैंकबाट अनौपचारिक रूपमा लगानी भएको ठाउँमा जिम्मेवार बन्नुपर्ने सुझाव आयो ।

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त भएको तथा राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएपछि अनौपचारिक रूपमा राष्ट्र बैंकका उच्च अधिकारीले ठूला लगानीकर्तासँग छलफल गरेका थिए । खास गरेर बैंक तथा वित्तीय संस्थामा सेयर लगानीको हिसाबले नियन्त्रण भएका र सञ्चालक समितिमा नजाने लगानीकर्तालाई राष्ट्र बैंकका केही अधिकारीले छलफल गरेका थिए ।

छलफलको क्रममा राष्ट्र बैंकले सञ्चालक समितिमा नगए पनि उल्लेख सेयर स्वामित्व हुने सेयरधनी संस्थामा जिम्मेवार हुनुपर्ने राय राखेका थिए । ‘खराब सञ्चालक चुनेर पठाउने र जिम्मेवारी नलिने तर, निर्णयमा नियन्त्रण लिने काम गर्न भएन, वित्तीय संस्थामा तपाईंहरूको जिम्मेवारी रहेको सुझाव राष्ट्र बैंकका अधिकारीहरूबाट आयो,’ एक ठूला लगानीकर्ताले सुनाए ।

राष्ट्र बैंकले बदनियत राखेर संस्था डुबाउने काम सेयरधनीले गरेमा उनीहरूको सेयरबाट निक्षेपकर्ताको पैसासमेत फिर्ता दिने सन्देश लगानीकर्तालाई दिएको थियो । अहिले पाँच लाखसम्मको निक्षेपको बीमा छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा प्रतिफल निकै घटेको छ ।

धेरैजसो बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताहरू आफू जानेभन्दा पनि अरुलाई सञ्चालकमा पठाउने गरेका छन् । कतिपय संस्थामा यसरी लगानीकर्ताले पठाएका सञ्चालक र व्यवस्थापनबीच समेत विवाद हुने गरेको छ ।

लगानीकर्ताले पठाएका सञ्चालकले सीईओ र उच्च व्यवस्थापनलाई नटेर्ने र सीईओ र उच्च व्यवस्थापनले सञ्चालकलाई नटेर्ने र निर्णय प्रक्रियामा समेत ढिलाइ हुने गरेको छ ।

बैंकिङ विज्ञ बीएन घर्ती जोखिम न्यूनीकरणका लागि पारिश्रमिक दिएर व्यावसायिक सञ्चालक लगानीकर्ताले पठाउनुपर्ने धारणा राख्छन् । ‘बैंकिङ अनुशासन’ पुस्तकका लेखकसमेत रहेका घर्तीले पूर्णकालीन सञ्चालकका लागि पारिश्रमिक चाहिने र ठूला उल्लेख सेयर स्वामित्व भएका लगानीकर्तालाई तालिमको समेत आवश्यक्ता हुने बताउँछन् ।

‘लगानीकर्ता बैंकको सञ्चालक समितिमा विभिन्न कारणले जनाउने र अरु सञ्चालक पठाउने नीतिले कतिपय संस्थामा समस्या आउन सक्छ,’ घर्तीले भने, ‘पारिश्रमिक दिएर व्यावसायिक सञ्चालक पठाएमा संस्था व्यावसायिक ढंगलबाट सञ्चालन हुन्छ ।’

राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल कानुनी हिसाबले संस्थाको दायित्व सञ्चालक समितिको नै हुने भएपनि सञ्चालक समिति चयन लगानीकर्ताले गर्ने हुँदा जिम्मेवार बन्नुपर्ने बताउँछन् ।

‘व्यावसायिक सञ्चालक चुन्ने काम लगानीकर्ता हो, त्यो काम लगानीकर्ताले पूरा गर्छन् भन्ने हो,’ पौडेलले भने । अनौपचारिक छलफलको विषय भने आफूलाई जानकारी नभएको पौडेलले बताए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime