Skip to content
Prabhu

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित

काठमाडौं । नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाख रुपैयाँबाट सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । साधारणसभाले कोषका अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले पेस गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । अध्यक्ष थापाले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब दुई अर्ब सात करोड रुपैयाँ सङ्कलन भएकामा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर दुई खर्ब २६ अर्ब ८३ करोड रुपैयाँ पुगेको बताए ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्ममा सङ्कलित गरेको दुई खर्ब ४२ अर्ब १५ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । कोषले गत आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब सात करोड ६४ लाख रुपैयाँ कूल आम्दानी गरेकोमा सञ्चालन र अन्य खर्च कटाइ कर पछिको खुद मुनाफा एक अर्ब १५ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

उक्ता खुद मुनाफा रकमबाट २८ करोड ९६ लाख रुपैयाँ रकम जगेडा कोषमा राखी बाँकी ८६ करोड ९० लाख रुपैयाँबाट सात प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको सञ्चालन र व्यवस्थापनमा सुधारका लागि विभिन्न रणनीति अघि सारिएको बताए । “कोषले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आधुनिक प्रणालीमार्फत सेवा सहज बनाउने योजनालाई प्राथमिकतामा राखेको छ । साथै, अनावश्यक बैंक खाता कटौती गर्दै वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउने कार्य भइरहेको छ’, उनले भने ।

कोषद्वारा सञ्चालित नागरिक स्टक डिलरको गतिविधि र नाफा अवस्थाबारे जानकारी गराउँदै कार्कीले यो वर्ष कोष नाफामै रहेको र कर्मचारी विनियमावलीको संशोधन प्रक्रिया पनि अघि बढेको बताए । त्यस्तै कोषको मधेश प्रदेशमा शाखा विस्तार गर्ने तयारी भइरहेको र आगामी दिनमा शाखा विस्तारले स्थानीयस्तरमा सेवा पुर्याउने विश्वास उनले व्यक्त गरे ।

‘कोषको लगानी रणनीति जोखिम विश्लेषणका आधारमा अघि बढाइएको छ । साइबर सुरक्षामा विशेष ध्यान दिँदै प्राविधिक सुरक्षा प्रणालीलाई सुदृढ बनाउने कार्य भइरहेको छ’, कार्यकारी निर्देशक कार्कीले भने । सरकारी वाणिज्य बैंकको तुलनामा कोषको ब्याजदर समानस्तरमा रहेको र सजिलै कर्जा उपलब्ध गराउन व्यवस्थापनले ध्यान दिएको उनले बताए ।

त्यस्तै कोषको कर अघिको नाफा घटेको जस्तो देखिए कर पछिको नाफा मात्र घटेको स्पष्ट पार्दै उनले कोषको वित्तीय स्थायित्व सुनिश्चित रहेको दाबी गरे । नागरिक लगानी कोषले आफ्ना गतिविधिहरूलाई पारदर्शी र जनउत्तरदायी बनाउन निरन्तर प्रयासरत रहेको उनले उल्लेख गरे ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal