Skip to content
Prabhu

मादी नदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु, १ करोड ८० लाख लाग्ने

तनहुँ । साना सहरी खानेपानी सरसफाइ आयोजना र दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहलगानीमा दोस्रो मादी लिफ्ट खानेपानी योजना सुरु भएको छ ।

यसअघि सम्पन्न पहिलो योजनाबाट दैनिक ३२ लाख लिटर पानी वितरण भइरहेको छ । वितरित पानी बजार क्षेत्रमा अपुग देखिएपछि दोस्रो खानेपानी योजना निर्माण अघि बढाइएको हो । मादीनदी किनारमा इनार निर्माण सम्पन्न गरी पाइपलाइन विस्तार तीव्र रूपमा भइरहेको संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिनुभयो । उनका अनुसार आयोजनाको ७० र संस्थाको ३० प्रतिशत गरी १ करोड ८० लाख रुपैयाँ लागत रहेको छ ।

‘दोस्रो मादी लिफ्ट योजना सम्पन्नपश्चात् दैनिक ८ लाख लिटर पानी थप हुनेछ’, व्यवस्थापक गिरीले भने, ‘यसपछि पानी वितरणमा सहज हुने अपेक्षा लिएका छौँ ।’ खानेपानीको समस्या भोग्दै आएका मालपोत लाइन, सत्यवती लाइन र देउराली नगर क्षेत्रका बासिन्दालाई छ इञ्चको पानी सिधै ट्याङ्कीबाट वितरण गर्न लागिएको संस्थाले जनाएको छ ।

मादीनदी सम्पवेलबाट बाघभञ्ज्याङ, डाँग्रीखोल्सीलगायत क्षेत्रमा दुई हजार पाँच सय मिटर क्षेत्रमा पाइपलाइन विस्तार कार्य भइरहेको संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पानी छोड्ने र बन्द गर्ने कार्यलाई सहज बनाउन मादीनदी किनारमा ‘गार्ड हाउस’ निर्माण गरिनेछ ।’

सदरमुकाम दमौली बजार क्षेत्रमा हुनसक्ने आगलागीका घटनालाई मध्यनजर गर्दै तीन स्थानमा खोल्न र पानी भर्न मिल्ने ठाउँ राखेर दमकलमा पानी भर्ने व्यवस्था मिलाउन लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

मादीनदीमा निर्माण गरिएको योजनाको खानेपानी तथा ढल व्यवस्थापन विभागका आयोजना निर्देशक राजेन्द्र सापकोटासहित सरोकार भएका निकायका प्रतिनिधिको टोलीले निरीक्षण गरेका थिए। संस्थाले व्यास नगरपालिका–२, ३, ४ मा गरी चार हजार उपभोक्तालाई दैनिक पानी वितरण गर्दै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal