दमौली । व्यास नगरपालिका–१० दुम्सीमा कृषिउपज संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । गाउँमा उत्पादित माछामासु, दूध, तरकारी, फलफूललगायत कृषिउपज सङ्कलन गरी सहज रूपमा बजारीकरण गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।
नगरको ३५ लाख ५१ हजार रुपैयाँ सहयोग र बाँकी जनश्रमदानबाट सङ्कलन गरी ४० लाख ७४ हजार तीन सय ५९ रुपैयाँ लागतमा निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले मंगलबार उक्त केन्द्र उद्घाटन गर्दै संकलन केन्द्रमार्फत उत्पादक र उपभोक्ता प्रत्यक्ष रूपमा जोडिनुका साथै स्थानीय उत्पादनको सहज बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कृषकहरूको उत्पादन खेर नजाओस् र उचित बजार मूल्य प्राप्त होस् भन्ने उद्देश्यले केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग संकलन गरिएको उनले बताए ।
नगरका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले दूध, माछामासु, फलफूल तथा तरकारीजन्य वस्तुको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने र निर्यात गर्नेगरी कृषकले उत्पादन गर्नुपर्नेमा जोड दिए ।
व्यास–१० का वडाध्यक्ष खेमराज पोख्रेलले स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबालीलगायत कृषिउपज बिक्रीका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न केन्द्र सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
कृषिउपज संकलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै स्थानीय किसान खुसी भएका यहाँस्थित सिसुवा भतेरी कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्