Skip to content

बाढीपहिरोको क्षति : करिब १३ अर्बको दाबी, सम्पति बीमाको मात्रै ९ अर्ब, २ अर्ब पनि भएन भुक्तानी

nabil bank

काठमाडौं । गत असोज महिनाको दोस्रो साता परेको अविरल बर्षाबाट भएको क्षतिको क्षेतिपूर्तिका लागि करिब १३ अर्ब रुपैयाँको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार १४ वटा ठूला निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुमा १२ अर्ब ८९ करोड ५ लाख रुपैयाँको दाबी परेको हो ।

दशैँको मुखैमा परेको बर्षाका कारण भएको क्षतिको ३ हजार ७०१ वटा दाबी परेको र उक्त रकम बीमा कम्पनीले भुक्तानी गर्नु पर्ने भएको हो । प्राधिकरणको तथ्यांक अनुसार सबै भन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ । १२ अर्ब ८९ करोडमध्ये ९ अर्ब २६ करोड ५२ लाख रुपैयाँ सम्पत्ति बीमामा मात्रै दाबी परेको छ । सम्पत्ति बीमामा १ हजार ७८२ वटा दाबी परेको छ ।

त्यस्तैगरी इन्जिनियरिङ बीमामा ३२४ वटा बादीको कम्पनीहरुले २ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ भुक्तानी दिनुपर्ने देखिएको छ । त्यसैगरी यो अवधिसम्ममा मोटर बीमा (निजी) तर्फ ९५४ वटा दाबीको ४१ करोड ३१ लाख रुपैयाँ र मोटर बीमा (सार्वजनिक) तर्फ ३९३ वटा दाबीको ३० करोड ७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ ।

प्राधिकरणको तथ्यांक अनुसार सामुद्रिक बीमातर्फ कम्पनीहरुमा २३ वटा दाबी परेका छन् । जसको ४ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी गर्नु पर्ने देखिन्छ । त्यस्तै पशुपन्छी बीमातर्फ ६७ दाबीको ३ करोड ६४ लाख रुपैयाँ, कृषि बाली बीमातर्फ १३७ वटा दाबीको १ करोड ५ लाख रुपैयाँ र विविधतर्फ २१ वटा दाबीको ९० लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ ।

दाबी भुक्तानी करिब २ अर्ब मात्रै

बीमा कम्पनीहरुमा करिब १३ अर्बको दाबी परेकोमा हालसम्म करिब २ अर्ब मात्र भुक्तानी भएको प्राधिकरणको तथ्यांकले देखाएको छ । हालसम्म बीमा कम्पनीहरुले १ हजार ९२६ वटा दाबीको १ अर्ब ९३ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेका छन् । जुन कुल दाबी रकमको १५ प्रतिशतमात्रै हुन आउँछ ।

हालसम्म सम्पत्ति बीमातर्फ कम्पनीहरुले ८५५ वटा दाबीको १ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरेका छन् । त्यसैगरी हालसम्म इन्जिनियरिङ बीमामा कम्पनीहरुले ७३ वटा दाबीको ८ करोड ५६ लाख रुपैयाँमात्रै भुक्तानी दिन सकेका छन् । त्यस्तै बीमा कम्पनीहरुले हालसम्म निजी मोटर बीमामा परेको दाबीमध्ये ५७७ वटा दाबीको १७ करोड ७३ लाख रुपैयाँ र सार्वजनिक मोटर बीमामा परेका दाबीमध्ये २३३ वटाको १९ करोड २२ लाख रुपैयाँ भुक्तानी दिएका छन् ।

त्यस्तै हालसम्म कम्पनीहरुले सामुद्रिक बीमातर्फ १३ वटा दाबीको १ करोड ६९ हजार रुपैयाँ, पशुपन्छी बीमातर्फ ४० वटा दाबीको ५४ लाख ३४ हजार रुपैयाँ, कृषि बीमातर्फ १२१ वटा दाबीको ७७ लाख २८ हजार रुपैयाँ र विविधतर्फ १४ वटाको ३२ लाख ४४ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime