Skip to content

दोस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरुको नाफा साढे ४ प्रतिशतले घट्यो, प्रभुको सर्वाधिक बढ्दा, नबिलले कमायो सबैभन्दा धेरै नाफा

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा वाणिज्य बैंकहरुको नाफा साढे ४ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार ४.६२ प्रतिशतले नाफा घटेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकहरुले यस्तो नाफा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ रहेको थियो । २० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुको नाफा घट्दा समग्रमा बैंकहरुको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा ११ बैंकहरुको नाफा भने बढेको छ ।

विवरणअनुसार यो अवधिमा प्राइम कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी बैंक र एनआईसी एसिया बैंकको नाफा घटेको छ ।

यो अवधिमा सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ९२ .०३ प्रतिशतले घटेको छ । त्यस्तै कुमारी बैंकको ६८.२० प्रतिशत र सिद्धार्थ बैंकको नाफा ५३.३६ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल बैंकको नाफा २१.८७ प्रतिशतले घटेको छ । यो अवधिमा सिटिजन्स बैंकको नफा १५.५४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६२.१४ प्रतिशत, कृषि विकास बैंकको २९.३५ प्रतिशत, स्ट्याण्र्डर्ड चार्टर्डको ४.९७ प्रतिशत र प्राइम कमर्सियलको १४.३४ प्रतिशतले घटेको छ ।

यो अवधिमा नाफा ११ बैंकको नाफा बढेको छ । पुस मसान्तसम्ममा नबिल बैंकको नाफा १.२९ प्रतिशतले बढेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको ४९.५१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५७.१८ प्रतिशत, एभरेष्ट बैंकको २१.११ प्रतिशत र एनएमबि बैंकको ४५.६१ प्रतिशतले नाफा बढेको छ । त्यस्तै यो अवधिमा हिमालयन बैंकको नाफा ०.९८ प्रतिशत, प्रभु बैंकको ८५.४९ प्रतिशत, सानिमा बैंकको ४.७२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ९.७१ प्रतिशत, नेपाल एसबिआई बैंकको ७.११ प्रतिशत र माछापुच्छ्रे बैंकको ०.२४ प्रतिशतले नाफा बढेको छ ।

नाफा वृद्धिमा प्रभु अघि

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा वृद्धि गर्न सफल बैंक प्रभु बैंक रहेको छ । सो बैंकको खुद नाफा समीक्षा अवधिमा ८५.४९ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ५७ प्रतिशतभन्दा बढी बढेको छ भने ग्लोबल आइएमई बैंकको साढे ४९ प्रतिशत र एनएमबि बैंकको साढे ४५ प्रतिशत बढेको छ ।

सबैभन्दा बढी नाफा नबिल बैंकको

पुस मसान्तसम्ममा २० बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । यो बैंकले पुस मसान्तसम्ममा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२९ प्रतिशत मात्र बढी हो । त्यस्तै, ग्लोबल आइएमई बैंकले पुस मसान्तसम्ममा ३ अर्बभन्दा बढी नाफा कमाएको छ ।

अर्ब क्लबमा ११ बैंक

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ११ बैंकहरुले १ अर्बभन्दा बढी नाफा कमाएका छन् । जसमध्ये दुई बैंकहरुले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् भने ३ बैंकहरुले २ अर्बभन्दा बढी नाफा कमाएका छन् । बाँकी ६ बैंकहरुको नाफा भने १ अर्बभन्दा बढी रहेको छ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime