काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले एनआईसी एसिया, प्रभु बैंक र हिमालयन कारबाही गरेको हो ।
राष्ट्र बैंकको निर्देशनविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले यी तीन बैंकलाई कारबाही गरेको हो । प्रभु बैंकलाई वित्तीय संस्थासम्बन्धी ऐन पालना नगरेकाले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यस बैंकले नियमविपरीत सञ्चालक समिति नियुक्त गरेर वार्षिक साधारणसभाबाट पारित गरेको, बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भए तापनि मर्जर तथा प्राप्तिको व्यवस्थालार्ई आफू अनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको व्यवस्था पालना नगरेको पाइएको छ ।
त्यस्तै, हिमालयन बैंकले कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाहरूको पालना नगरेको पाइएको छ। यससम्बन्धी हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको छ ।
त्यस्तै एनआईसी एसिया बैंकले सञ्चालक, निजहरूका परिवारका सदस्य एवं सम्बद्ध संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको पाइएको छ । बैंकका सञ्चालक, निजका परिवारका सदस्य एवं सम्बद्ध संस्थाहरूको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशनबमोेजिम बढी प्रदान भएको ब्याज रकम फिर्ता गराएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र संघाइलाई नेपाल नसिहत दिएको छ ।












प्रतिक्रिया दिनुहोस्