Skip to content

सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा कृषि क्षेत्रमा बैंकहरूको कर्जा करिब ५ प्रतिशतले घट्यो

nabil bank

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कृषि तथा औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय सस्थाहरुले कर्जा घटाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदनअनुसार यी दुवै शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा घटाएका हुन् ।

प्रतिवेदनअनुसार बैंक तथा फाइनान्स कम्पनीहरूले सुदूरपश्चिम प्रदेशको औद्योगिक क्षेत्रमा २०८१ असार मसान्तसम्ममा २५ अर्ब ६० करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा २०८० असार मसान्तको तुलनामा ४.७९ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४.७० प्रतिशतले बढेको थियो । प्रतिवेदनअनुसार कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १६.७५ प्रतिशत रहेको छ ।

समीक्षा वर्षसम्ममा कुल औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ३.२० प्रतिशतले बढेको छ भने भने विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा सबैभन्दा बढी १२.१३ प्रतिशतले घटेको छ ।

कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा ४१.२६ प्रतिशत, गैरखाद्यवस्तुसम्बन्धी उद्योगमा २८.३५ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा २१ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा सात दशमलव ५५ प्रतिशत, विद्युत्, ग्यास तथा पानी उद्योगमा एक प्रतिशत र खानीसम्बन्धी उद्योगमा ०.८० प्रतिशत अंश रहेको छ ।

प्रतिवेदनअनुसार समीक्षा वर्षमा सुुदूरपश्चिम प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७८.४४ प्रतिशत रहेको छ भने बाजुरा जिल्लाको अंश सबैभन्दा कम ०.४१ प्रतिशत रहेको छ ।

यसैगरी, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बैतडी, दार्चुला, तथा बझाङ को अंश क्रमशः १६.६५ प्रतिशत, १.६७ प्रतिशत, ०.९४ प्रतिशत, ०.६६ प्रतिशत, ०.५० प्रतिशत, ०.४९ प्रतिशत र ०.४२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा एक दशमलव ३१ प्रतिशतले घटेर १६ अर्ब ५२ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १० प्रतिशतले बढेको थियो ।

प्रतिवेदनअनुसार समीक्षा वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवामा १९ दशमलव ३७ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम शून्य दशमलव शून्य तीन प्रतिशत सनपाट शीर्षकमा प्रवाह भएको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १०.८१ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६६.४५ प्रतिशत, कञ्चनपुरको २०.७९ प्रतिशत, डडेल्धुरा, डोटी, बझाङ, दार्चुला, बैतडी, अछाम तथा बाजुराको अंश क्रमशः तीन दशमलव ४४ प्रतिशत, एक दशमलव ८६ प्रतिशत, १.८२ प्रतिशत, १.७४ प्रतिशत, १.४८ प्रतिशत, १.३४ प्रतिशत र १.०७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime