एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी मुलुकहरु क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा ट्यारिफ लगाउने घोषणा गरेर व्यापार युद्ध सुरु गरेका छन् । क्यानडाले यसको बदला आफूले पनि अमेरिकी सामानमा समान ट्यारिफ लगाउने बताएको छ । मेक्सिकोले पनि जवाफी कदम उठाउने प्रतिबद्धता जनाएको छ, यद्यपि अमेरिकाद्वारा मेक्सिकोमाथि लगाइने ट्यारिफ हाल एक महिनाका लागि स्थगित गरिएको छ ।
यी तीन देशहरू अर्थतन्त्र र सप्लाइ चेनमा एकापसमा गहिरोसँग आबद्ध छन् । जसअन्तर्गत दैनिक १.६ अर्ब डलर बराबरका उत्पादन सामग्रीहरुको सिमापार व्यापार भइरहेको छ । ट्रम्पले अमेरिकी उद्योगलाई जोगाउन चाहेको बताएका छन्, तर धेरै अर्थशास्त्रीहरूले नयाँ नीतिअनुसार लागू गरिएका करहरूले अमेरिकी उपभोक्ताहरूका लागि वस्तुहरूको मूल्य वृद्धि गराउने चेतावनी दिएका छन् ।
किनभने ट्यारिफको लागत अन्ततः ती सामान आयात गर्ने स्वदेशी कम्पनीहरूले तिर्नु पर्ने हुन्छ । उनीहरूले सो लागत उपभोक्तामाथि सार्न सक्छन्, वा आयात घटाउने निर्णय गर्न सक्छन्, जसका कारण बजारमा उपलब्ध सामानहरूको मात्रा कम हुन सक्छ ।
ट्रम्पको ट्यारिफसम्बन्धी नयाँ नीतिले अमेरिकमा कुन कुन क्षेत्रमा मूल्यवृद्धि हुनसक्छ त ?
कार
टिडी इकोनोमिक्सका अनुसार ट्रम्पको उक्त नीतिका कारण कारको मूल्य तीन हजार डलरले बढ्ने सम्भावना छ । किनभने गाडीका पाट्र्सहरू अमेरिका, क्यानडा र मेक्सिकोको सिमा हुँदै आउँछन् । त्यसपछि मात्रै अमेरिकामा कार एसेम्बल हुन्छ । पाट्र्स आयात गर्दा उच्च कर तिर्नुपर्ने भएकाले यसको खर्च ग्राहकहरूलाई सार्ने सम्भावना छ ।
बियर, टेनेसी ह्विस्की र टकीला
मेक्सिकोका लोकप्रिय बियर ब्रान्डहरू मोडेलो र कोरोना अमेरिकी ग्राहकहरूको लागि महँगो हुन सक्छन्, यदि अमेरिकी कम्पनीहरूले आयात शुल्कको लागत ग्राहकहरूलाई सार्ने निर्णय गरेमा मूल्य बढ्नेछ । तर, यसको अर्को सम्भावना भनेको यी कम्पनीहरूले आयात नै घटाउनेछन् । मोडेलो सन् २०२३ मा अमेरिकामासबैभन्दा बढी बिक्री हुने बियर बनेको थियो र हालसम्म शीर्ष स्थानमै छ । साथै, मदिरा क्षेत्रमा सन् १९९० को दशकदेखि ट्यारिफरहित व्यापार चल्दै आएको छ । अमेरिका, क्यानडा र मेक्सिकोका उद्योग निकायहरूले ट्यारिफ घोषणा हुनुअघि नै गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए । उनीहरुका अनुसार केही ब्रान्डहरू जस्तै बर्बन, टेनेसी ह्विस्की, टकीला र क्यानाडियन ह्विस्की देशमै उत्पादन गर्न सकिन्छ ।
घर
क्यानाडाबाट आउने काठ (लम्बर) मा अमेरिका प्रवेश गर्ने क्रममा ट्यारिफ लगाइनेछ । राष्ट्रपति ट्रम्पले भनेका छन्, “हामीसँग आवश्यकताभन्दा बढी काठ छ, त्यसैले काठमा ट्यारिफ लगाउन आवश्यक छ ।” तर, नेशनल एसोसिएसन अफ होम बिल्डर्सले निर्माण सामग्रीका आयातमा प्रस्तावित ट्यारिफ हटाउन आग्रह गरेको छ । यसले आवासीय घरको लागत बढाउने उसको भनाइ छ ।
एम्यापल सिरप
क्यानडासँगको व्यापार युद्धका कारण घरेलु उपभोक्ताहरूमा सबैभन्दा प्रत्यक्ष असर पर्ने उत्पादन भनेको क्यानाडियन म्यापल सिरप हुनेछ । लन्डन स्कुल अफ इकोनोमिक्सका एसोसिएट प्रोफेसर थोमस स्याम्पसनका अनुसार म्यापल सिरप निकै महँगो हुनेछ, र यो मूल्य वृद्धि उपभोक्ताहरूले प्रत्यक्ष रूपमा अनुभव गर्नेछन् ।
क्यानडाको म्यापल सिरप उद्योग १ अर्ब डलरको छ, जसले विश्वभर उत्पादन हुने ७५ प्रतिशत म्यापल सिरप आपूर्ति गर्छ । क्यानाडाको ९० प्रतिशत म्यापल सिरप केवल क्युबेक प्रान्तमा उत्पादन हुन्छ, जहाँ २४ वर्षअघि विश्वकै एक मात्र म्यापल सिरप आरक्षित भण्डार स्थापना गरिएको थियो ।
इन्धनको मूल्य
क्यानडा अमेरिकाको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता हो । सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म अमेरिकामा आयात गरिएको कुल तेलमध्ये ६१ प्रतिशतक्यानाडाबाट आएको थियो । यद्यपि अन्य क्यानाडियन सामानहरूमा २५ प्रतिशत ट्यारिफ लगाइएको छ, ऊर्जामा भने १० प्रतिशत ट्यारिफ मात्रै लगाइएको छ । क्यानडाले जवाफी प्रतिक्रिया स्वरूप अमेरिका निर्यात गर्ने कच्चा तेल घटाउने निर्णय ग¥यो भने पेट्रोलको मूल्य वृद्धि हुने सम्भावना छ ।
एभोकाडो
अमेरिकी उपभोक्ताहरूका लागि ठूलो मूल्य वृद्धि देखिन सक्ने खाद्य वस्तु भनेको एभोकाडो पनि हो । मेक्सिकोको तातो र चिस्यानयुक्त हावापानीका कारण, अमेरिकाभित्र प्रयोग गरिने ९० प्रतिशत एभोकाडो त्यहाँबाटै आउँछ । नयाँ ट्यारिफको कारणले अमेरिकी कृषि विभागले एभोकाडोको मूल्य वृद्धि हुनसक्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्