काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले गत आवको सोही अवधिको भन्दा १४ प्रतिशतले नाफा वृद्धि गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रेमासिकसम्मको वित्तीय विवरण अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुको नाफा १४.८५ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिमा ३ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ नाफा गरेका छन् । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुको यस्तो नाफा ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ रहेको थियो । वित्तीय विवरण अनुसार समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा नेपाल लाएफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ भने नाफा वृद्धिदरको आधारमा सिटिजन लाइफ सबै भन्दा अघि देखिएको छ ।
समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ४६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.४५ प्रतिशत बढी हो । कम्पनीले गत आवको सोही अवधिमा ४२ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । त्यस्तै धेरै नाफा काउने कम्पनीको दोस्रो नम्बरमा रहेको हिमालयन लाइफको मुनाफा ८.७३ प्रतिशतले बृद्धि भएको छ । यो कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मा ३७ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३४ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै यो अवधिमा रिलायबल नेपाल लाइफले यो अवधिमा कम्पनीले ३५ करोड ३ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । यो गत आवको सोही अवधिको भन्दा ५१.७० प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा यो कम्पनीको यस्तो नाफा २३ करोड ९लाख रुपैयाँ रहेको थियो । त्यस्तै, चालु आवको पुस मसान्तसम्ममा सन नेपाल लाइफले २८ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिमो भन्दा १४.०५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३२ करोड ८४ लाख रुपैयाँ रहेको थियो । विवरण अनुसार यो अवधिमा नेशनल लाइफको नाफा २७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको भन्दा ९.४० प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा यो कम्पनीको यस्तो नाफा २५ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै यो अवधिमा आइएमई लाइफले २६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो कम्पनीले गत आवको सोही अवधिमा भने २३ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । यो कम्पनीले गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा १४.१२ प्रतिशतले नाफा बढाएको छ ।
त्यस्तै चालु आवको पुस मसान्तसम्मको अवधिमा एशियन लाइफले गत आवको भन्दा ५६.५५ प्रतिशतले नाफा बढाएको छ । यो कम्प्नीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मा २५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यस्तो नाफा गत आवको सोही अवधिमा १५ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा सानिमा रिलायन्स लाइफले २३ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको भन्दा ५.४४ प्रतिशतले धेरै हो । यो कम्पनीले गत आवको सोही अवधिमा २१ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सबै भन्दा धेरै नाफा वृद्धि गर्न सफल भएको सिटिजन लाइफले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको भन्दा ८६.७८ प्रतिशतले बढी हो । गत आवको पुस मसान्तसम्म यो कम्पनीको यस्तो नाफा १२ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा मेट लाइफ नेपालले २२ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको भन्दा १४.८१ प्रतिशतले धेरै हो । यो कम्पनीले गत आवको पुस मसान्तसम्ममा १९ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै समीक्षा अवधिमा सूर्यज्योति लाइफले ३.३७ प्रतिशतले नाफा बढाएको छ । यो कम्पनीले पुस मसान्तसम्ममा १९ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १८ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रभु महालक्ष्मी लाइफले १८ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको भन्दा ३.४९ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ नाफा कमाउको थियो । त्यस्तै यो अवधिमा एलआइसी नेपालले गत आवको भन्दा ३.८१ प्रतिशतले नाफा बढाएर १४ करोड १८ लाख रुपैयाँ पु¥याएको छ । गत आवको सोही अवधिमा यो कम्पनीको यस्तो नाफा १३ कुोड ६६ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा ८० लाख ६५ हजार रुपैयाँमा सिमित भएको छ । यो गत आवको सोही अवधिको भन्दा ४३.५५ प्रतिशतले कम हो । यो कम्पनीले गत आवको पुस मसान्तसम्मा १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बृद्धिदरको आधारमा सिटिजन्स अघि
गत आर्थिक वर्षको तुलनामा सिटिजन लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा बढी अंकले बृद्धि भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सले मुनाफा ८६.७८ प्रतिशतले बृद्धि गर्न सफल भएको हो । त्यस्तै, दोस्रो नम्बरमा एशियन लाइफ रहेको छ । कम्पनीको खुद नाफा ५६.५५ प्रतिशतले बृद्धि भएको छ भने तेस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा गत आवको तुलनामा ५१.७० प्रतिशतले बृद्धि भएको छ ।






प्रतिक्रिया दिनुहोस्