काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले बिमितलाई भुक्तानी गर्न बाँकी रकम ४० अर्बनजिक पुगेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको विवरणअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले बिमितलाई ३९ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ दाबी भुक्तानी दिन बाँकी रहेको देखिएको हो ।
हाल ठूला निर्जीवन बीमा कम्पनीरु १४ वटा छन् । उनीहरुमध्ये अधिकांश कम्पनीले भुक्तानी गर्न बाँकी रहेको रकम उनीहरुको चुक्ता पुँजीभन्दा पनि बढी रहेको छ । बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बीमा कम्पनीहरुले बीमा बापतको रकम समयमा भुक्तानि दिदैनन् भन्ने मानकलाई सार्थकता दिएको छ।
कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनासम्मा भुक्तानी गर्नुपर्ने रकम गत आवको सोही अवधिको भन्दा ४१.८५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिसम्ममा निर्जीवन बीमा कम्पनीले भुक्तानी गर्नुपर्ने रकम २८ अर्ब ९५ लाख थियो । यो एक वर्षको अवधिमा यस्तो दाबी भुक्तानी गर्नुपर्ने रकम ११ अर्बले बढेको छ ।
कम्पनीहरुले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्मा सबैभन्दा धेरै दाबी भुक्तानी गर्न बाँकी रहेको कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स हो । यो कम्पनीले बिमीत ६ अर्ब ९ करोड ९२ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
यो कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । त्यस्तै २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी भएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स धेरै दाबी भुक्तानी गर्नु पर्ने कम्पनीको दोस्रो स्थानमा रहेको छ ।
वित्तीय विवरणअनुसार यो कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा ५ अर्ब ४१ करोड रुपैयाँको दावी भुक्तानी गर्न बाँकी रहेको छ । त्यस्तै, शिखर इन्स्योरेन्सले पनि हालसम्म ३ अर्ब ९७ करोड रुपैयाँ दावी भुक्तानी गर्न बाँकी रहेको छ । यो कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै पुस महिनासम्ममा सानिमा जिआईसी इन्स्योरेले बिमितलाई भुक्तानी दिनुपर्ने रकम ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यो कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ मात्रै छ ।
त्यस्तै २ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेको इन्स्योरेन्सको आफ्ना बिमीतलाई भुक्तानी दिन बाँकी रकम भने २ अर्ब ८४ करोड रुपैयाँ रुपैयाँ रहेको छ । त्यस्तै सरकारी स्वामित्व राष्ट्रिय बीमा कम्पनीले पुस मसान्तसम्मा दाबी भुक्तानी दिन बाँकी रकम २ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । यो कम्पनीको चुक्ता पुँजी जम्मा २६ करोड ६६ लाख मात्रै छ ।
समीक्षा अवधिमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दावी भुक्तानी गर्नुपर्ने रकम २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यो कम्पनीको चुक्ता पँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिमा हिमालयन भएरेष्ट इन्स्योरेन्सको दाबी भुक्तानी दिनुपर्ने रकम २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
यो कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै चालु आवको पुस मसान्तसम्मको अवधिमा द ओरियण्टल इन्स्योरेन्सले २ अर्ब ३६ करोड रुपैयाँ दाबी भुक्तानी दिन बाँकी रहेको छ ।
त्यस्तै एजएलजी इन्स्योरेन्सले १ अर्ब ९४ करोड रुपैयाँ दाबी भुक्तानी दिन बाँकी रहेको छ । यो कम्पनीको हालका चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ मात्रै छ । नेसनल इन्स्योरेन्सले १ अर्ब ६४ करोड रुपैयाँ दाबी भुक्तानी दिन बाँकी रहेको छ । त्यस्तै १ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पुँजीको रहेको प्रभु इन्स्योरेन्सले बिमितलाई १ अर्ब ५५ करोड रुपैयाँ, २ अर्ब १० कारोड रुपैयाँ चुक्ता पुँजी रहेको युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २९ करोड रुपैयाँ र १ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्स्योरेन्सले आफ्ना बिमीतलाई १ अर्ब २३ करोड रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको छ ।






प्रतिक्रिया दिनुहोस्