Skip to content
Prabhu

सिस्नेरा र बाजगरामा ‘एक घर, एक धारा’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको सिस्नेरा र बाजगरा टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । बेनी नगरपालिकाको अनुदान र उपभोक्ताहरुको श्रमदानमा १२ लाख रुपैयाँको लागतमा निर्माण भएको छ्यारछ्यारे खानेपानी आयोजना मार्फत ३० घरपरिवार लाभान्वित भएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र चोखालले वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा बिनियोजन गरेको आठ लाख रुपैयाँ बजेट र चार लाख रुपैयाँ बराबरको श्रमदानमा योजना निर्माण भएको जानकारी दिए।

global
अर्घाखाँची सिमेन्ट

‘छ्यारछ्यारेमा मुहान, पाइपलाइन, टंकी र २२ वटा नयाँ धारा निर्माण गरिएको छ भने आठ वटा पुराना धारालाई मर्मत गरेर खानेपानी वितरणको व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘घरघरमा मिटर सहितको धाराबाट खानेपानी वितरण भएपछि समयको बचतका साथै पानीका कारणले हुने सामाजिक द्वन्द्व न्युनीकरण भई सद्भाव कायम गर्न सहयोग पुगेको छ ।’

खानेपानी योजना निर्माणका लागि कुल लागतको दश प्रतिशत श्रमदान गर्नुपर्ने नगरपालिकाको नीति भएपनि प्रतिघर २७ दिनका दरले चार लाख रुपैयाँ बराबरको श्रमदान भएको उपभोक्ता समितिका सचिव लालबहादुर कार्कीले बताए ।

यसअघि विसं २०६५ मा निर्माण भएको योजनाको सार्वजनिक धारा पुरानो भएको र पानी वितरण गर्न असहज भएपछि नयाँ निर्माण गरिएको उनले बताए । यसअघि सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लगेर उपभोग गर्दै आएका थिए ।

वितरण प्रणालीलाई व्यवस्थित, पानीको मितव्ययी प्रयोग र आयोजनाको दीर्घकालीन सञ्चालन गर्न धारामा मिटर जडान गरेर पानीको खपतको आधारमा शूल्क संकलन गर्ने ब्यवस्था मिलाइएको छ ।

बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले सम्झौता भन्दा बढी रकम बराबरको श्रमदान गरेर सिस्नेरा र बाजगराका बासिन्दाले विकासमा जनसहभागिताको नमुना प्रस्तुत गरेका बताए ।

बेनी नगरपालिकाको वडा नम्बर ४ मा पर्ने डाडाखेतमा एक घर, एक धारा सहितको खानेपानी योजना निर्माणका लागि प्रदेश सरकारबाट गत वर्ष २० लाख रुपैयाँ बिनियोजन गरेर सुरु गरेको योजनाका लागि यस वर्षपनि २० लाख रुपैयाँ बिनियोजन भएको र निर्माणाधिन रहेको वडा अध्यक्ष खड्काले बताए ।

उनका अनुसार आठ सय ३४ घरपरिवारको बसोबास रहेको बेनी नगरपालिकाको वडा नम्बर४ को डाडाखेत र थामडाडा बाहेकका टोलमा एक घर, एक धारा सहितको खानेपानी सुविधा पुगेको छ ।

थामडाडाको खानेपानी योजनाका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले बिनियोजन गरेको दुई लाख रुपैयाँ बजेटबाट काम भैरहेको छ । सिंगा, सुर्केमेला, बास्कुना, स्वाँत, ठुलोखोला, राक्से टोलमा एक घर, एक धारा सहितको खानेपानी सुविधा पुगिसकेको वडा अध्यक्ष खड्काले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal