काठमाडौं । हाल नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको व्यवसाय खर्बनजिक पुगेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार ठूला र लघु जीवन बीमा कम्पनीहरुको गरी अहिले कुल बीमाको व्यवसाय ९६ अर्ब १ करोड १८ लाख रुपैयाँ पुगेको हो । यो बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ महिनासम्मको विवरणअनुसार १४ ठूला र तीन लघु जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्क हो ।
कम्पनीहरूले सावधिक, अग्रिम भुक्तानी सावधिक, रूपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक रोजगार म्यादी, आजीवन, एकल बीमाशुल्क, म्यादी, लघु र अन्य जीवन बीमा शिर्षकमा उक्त रकम बराबरको बीमा व्यवसाय गर्न सफल भएका छन् । तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेशमा बढी केन्द्रित भएको देखिन्छ । देशको संघीय राजधानीसमेत रहेको प्रदेशबाट बीमा कम्पनीहरुले सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार बागमती प्रदेशबाट जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै ४१ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । प्रदेशगत रूपमा बागमती प्रदेशपछि जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै बीमा शुल्क लुम्बिनी प्रदेशबाट संकलन गरेका छन् । लुम्बिनी प्रदेशबाट कम्पनीहरूले चालु आर्थिक वर्षको माघ महिनासम्मको अवधिमा १५ अर्ब २७ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
त्यस्तै यो अवधिसम्ममा कम्पनीहरूले कोशी प्रदेशबाट ११ अर्ब ७८ करोड ३३ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको देखिन्छ । त्यस्तै गण्डकी प्रदेशबाट ९ अर्ब ९३ करोड ५७ लाख रुपैयाँ र मधेश प्रदेशबाट ८ अर्ब ६६ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीहरूले सबैभन्दा कम बीमा शुल्क कर्णाली प्रदेशबाट संकलन गरेको देखिन्छ । यो प्रदेशबाट जीवन बीमा कम्पनीहरुले २ अर्ब ८२ करोड १७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै कम्पनीहरुले सुदूरपश्चिम प्रदेशबाट ५ अर्ब ९२ करोड ८३ लाख रुपैयाँभन्दा बढीको बीमा शुल्क संकलन गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्