Skip to content

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

nabil bank
DCIM100MEDIADJI_0244.JPG

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीयवासी जुटेका छन् । धार्मिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थलको प्रचारप्रसारसँगै संरक्षणमा स्थानीयवासी जुटेका हुन् । स्थानीय युवाको सक्रियतामा यो मन्दिरको संरक्षण भइरहेको छ । स्थानीयवासीले वडा कार्यालयबाट प्राप्त बजेटबाट घेराबारा गरेका हुन् । सरोकारवाला पक्षसँग बजेट मागसँगै स्थानीयबाट श्रमदान गरेर मन्दिरको संरक्षण गरिरहेको टेम्केमैयुङ– ५ का गजलेका स्थानीयवासी रमेश विष्टले बताए ।

अहिले वडाबाट प्राप्त रु दुई लाख र श्रमदानमार्फत ५० हजार रुपैयाँ गरी करिब दुई लाख ५० हजार रुपैयाँ बजेटबाट मन्दिरमा बाह्र मिटर चौडाइ, २० मिटर लम्बाइ र डेढ मिटर उचाइ बराबरको घेराबारा गर्ने काम सम्पन्न भएको उनले जानकारी दिए ।

‘सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा जुटेका छौँ’ उनले भने, ‘मन्दिरमा घेराबारा नहुँदा पशुचौपाया पस्ने तथा मन्दिरको असुरक्षा बढेकोले संरक्षण गरेका हौँ । मन्दिरको संरक्षण तथा प्रचारप्रसारमा स्थानीयवासी जुटेको छौँ । श्रमदानसँगै विभिन्न निकायमा बजेट माग गरेर मन्दिरको संरक्षण गरिरहेका छौँ ।’

मन्दिरको शिरमा प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्केडाँडा रहेकोले यो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटनको राम्रो सम्भावना रहेको स्थानीयवासी शिवकुमार विष्टले बताए । यो क्षेत्रको विकासका लागि गाउँका युवा एकजुट भएर संरक्षण तथा विकास लागेको उनको भनाइ छ । यो मन्दिर टेम्केको काखमा रहेकाले नेपाल सरकारको एक सय गन्तव्यभित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’लाई यो क्षेत्र भएर विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘यो क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ’ उनले भने, ‘तर मझौले क्षेत्रमा पदमार्ग विस्तारको कुनै योजना छैन । यो क्षेत्रलाई पनि समेटेर पदमार्ग विस्तार गर्न जोडदार माग गरिरहेका छौँ ।’

यहाँ मन्दिर निर्माण तथा यसको व्यवस्थापनको लागि निःशुल्क आवश्यक जमिन प्रदान गरेको स्थानीयवासी देवबहादुर विष्टले बताए । मन्दिरको संरक्षण तथा विकास विस्तारमा सबैजना एकसाथ अघि बढेको उनको भनाइ छ । यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको उनको भनाइ छ ।

पर्यटकीय रुपमा सुन्दरस्थलमा रहेको यो देवस्थल प्रसारप्रसारको कमिले ओझेलमा परेको उनको भनाइ छ । यसको महत्वलाई देश विदेशमा चिनाउन सके यसले यो क्षेत्रको आर्थिक विकासमा निकै ठूलो टेवा पुग्ने विष्टले बताए । ‘यो महत्वपूर्ण धार्मिकस्थल हो’ उनले भने, ‘यो स्थानमा मन्दिर निर्माण तथा आवश्यक व्यवस्थापनको लागि मैले निःशुल्क जग्गा प्रदान गरेको छु । यो क्षेत्रलाई प्रचारप्रसार गर्न सकेमा यहाँको विकासमा थप टेवा पुग्ने देखिन्छ ।’

राज्यको मात्र बाटो हेर्नेभन्दा पनि आफ्नो तहबाट पनि योगदान गर्ने लक्ष्यले युवाहरु एकजुट भएर मन्दिरसँगै गाउँ विकासमा जुटेको स्थानीयबासी छिरिङ शेर्पाले बताए। घेराबाराको काम सम्पन्न भए पनि मन्दिरको प्रदेशद्धार(गेट) आफ्नो पहलमा निर्माण गर्ने जिम्मा लिएको उनले बताए ।

‘हामीले पनि आफ्नो ठाउँको विकासको लागि अगुवाइ गर्नुपर्छ’ उनले भने, ‘राज्यको तहको मात्र आशा गर्नेभन्दा पनि हामी पनि जागरुक हुन आवश्यक छ । आफ्नो ठाउँको विकासमा आफ्नो तहबाट पनि योगदान गर्नुपर्छ भन्ने सोचका साथ हामी अघि बढेका छौँ ।’

यो स्थानमा तिज, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी तथा विभिन्न अवसरमा मेला लाग्ने गरेको स्थानीयवासी एकराज विष्टले बताए । चिताएको पुग्ने तथा मनोकाक्ष पूरा हुने धार्मिक विश्वासले मानिसहरु यहाँ आउने गरेको उनको भनाइ छ । मन्दिरमा शिव, गणेश, सूर्य, विष्ण र देवी गरी पञ्चायन भगवानको मूर्तिहरु रहेका छन् । यहाँ एक साथ पाँच देवताको दर्शन गर्न सकिने उहाँको भनाइ छ ।

‘यो शिवपञ्चायन मानिसको धार्मिक आस्थाको केन्द्र हो’ उनले भने, ‘प्रसिद्ध टेम्के डाँडाको काखमा रहेपनि यो स्थान ओझेलमा पर्नु दुःखको कुरो हो । हामी अहिले स्थानीयस्तरबाट प्रचारप्रसारमा जुटेका छौँ । राम्रो प्रचार गर्न सके यसले यहाँको आर्थिक विकासमासमेत टेवा पुग्ने देखिन्छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi