Skip to content

तनहुँ जलविद्युत आयोजनाले वानटाङ खोलामा पक्की पुल निर्माण गर्न दियो ठेक्का

nabil bank

काठमाडौं । निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको जलाशय क्षेत्रअन्तर्गत भीमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण गर्न ठेक्का सम्झौता भएको छ ।

भीमाद–ऋषिङ सडकअन्तर्गत आयोजनाको जलाशयका कारण डुबानमा पर्ने वानटाङ खोलामा करिब १३० मिटर लामो पक्की पुल निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने निर्माण व्यवसायीसँग बुधबार ठेक्का सम्झौता भएको छ । निर्माण व्यवसायीले नै पुलको डिजाइन र निर्माण गर्ने (डिजाइन एन्ड बिल्ड) गरी सपना निर्माण सेवा प्रालिसँग २३ करोड ७ लाख रुपैयाँ (मूल्य अभिवृद्धि करसहित)मा ठेक्का सम्झौता भएको हो ।

आयोजनाको प्रवर्धक तनहुँ हाइड्रोपावर लि।का तर्फबाट प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठ र सपना निर्माण सेवाका तर्फबाट प्रबन्ध–सञ्चालक हरिप्रसाद ढकालले ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् । ३० महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो ।

आयोजनाको विकास साझेदार एसियाली विकास बैंकको खरिद निर्देशिका बमोजिम पुल निर्माणका लागि निर्माण व्यवसायी छनोट गर्न १४ असार २०८१ मा टेन्डर आह्वान गरिएको थियो । पाँच निर्माण व्यवसायीबाट प्रस्ताव पेस भएको थियो । प्राविधिक बोलपत्रहरूको मूल्यांकनमा पाँचवटै कम्पनी सारभूत रूपमा प्रभावग्राही भएका थिए ।

त्यसपछि आर्थिक बोलपत्र खोलिएको थियो । आर्थिक बोलपत्रहरूको मूल्यांकनपश्चात न्यूनतम मूल्यांकित सारभूत रूपमा प्रभावग्राही सपना निर्माण सेवाको बोलपत्र स्वीकृत गरी ठेक्का सम्झौता गरिएको हो ।

वानटाङ सेती नदीको सहायक खोला हो । आयोजनाले व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ को सीमानामा निर्माण गर्ने १४० मिटर अग्लो बाँधका कारण बन्ने जलाशयका कारण माथिल्लो तटीय क्षेत्रमा पर्ने वानटाङ खोला पनि डुबानमा पर्नेछ । अधिकतम तह समुद्र सतहबाट ४१५ मिटरसम्म बन्ने जलाशयका कारण त्यस भेगका बासिन्दाको आवतजावतमा अवरोध हुने भएपछि आवागमनलाई सहज बनाउन पक्की पुल निर्माण गर्न लागिएको कम्पनीका प्रबन्ध–सञ्चालक श्रेष्ठले बताए।

भीमाद बजारबाट ऋषिङपाटनसम्मको सडक कालोपत्रे भइसकेको छ । बीचमा पुल नहुँदा मुख्य रूपमा वर्षायाममा त्यस भेगको आवागमन प्रभावित हुँदै आएको छ । आयोजनाले हाल वर्षायाममा वानटाङ खोला हुँदै गरिने आवतजावतलाई सहज बनाउन अस्थायी कल्भर्ट निर्माण गरिदिएको छ । यसबाट त्यस भेगका बासिन्दा लाभान्वित भएका छन् ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत हालसम्म व्यास तथा भीमाद नगरपालिका र ऋषिङ, म्याग्दे तथा बन्दीपुर गाउँपालिका आयोजना प्रभावित वडाहरूमा ६८ योजना सम्पन्न भएका छन् । ६ वटा योजना सञ्चालित छन् । जीविकोपार्जन पुनर्स्थापना योजनाअन्तर्गत आयोजना प्रभावितहरूको आयआर्जन वृद्धिका मौरीपालन, बाख्रापालन, वित्तीय साक्षरता, व्यावसायिक तरकारी खेती, इलेक्ट्रिसियन लगायतका विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime