काठमाडौं । नेपाल र भुटानको बैंकिङ तथा फिन्टेक उद्योगलाई विश्वस्तरीय वित्तीय ज्ञान तथा नेटवर्कमा जोड्ने उद्देश्यले ‘दी एसियन बैंकर’ (ट्याब) र काठमाडौं फिन्टेकबीच एक विशेष समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ।
सो सम्झौतासँगै ट्याब ग्लोबलले काठमाडौं फिन्टेकलाई नेपाल र भुटानका लागि आफ्नो एकमात्र आधिकारिक प्रतिनिधिको रूपमा नियुक्त गरेको छ, जसले नेपाली तथा भुटानी बैंकिङ तथा फिन्टेक प्रोफेसनललाई दी एसियन बैंकर, द बैंकिङ एकेडेमी, ट्याब इन्साइड्स, वेल्थ एण्ड सोसाइटीजस्ता ग्लोबल प्लेटफर्ममा पहुँच दिलाउनेछ।
सो सम्झौता हस्ताक्षर गर्दै ट्याब ग्लोबलका अध्यक्ष इम्यानुएल ड्यानियल ले भने, ‘हामी काठमाडौं फिन्टेकसँगको यो साझेदारीप्रति निकै उत्साहित छौं। नेपालको वित्तीय क्षेत्र डिजिटल रूपान्तरणको यात्रामा छ, र यस प्रक्रियालाई ग्लोबल नलेज एक्सचेन्ज तथा नेटवर्किङले अझ मजबुत बनाउनेछ। हामी नेपाली तथा भुटानी वित्तीय संस्थाहरूलाई विश्वस्तरीय अवसरहरू प्रदान गर्न प्रतिबद्ध छौं।’
यस अवसरमा, काठमाडौं फिन्टेकका संस्थापक सञ्जिव सुव्बा ले भने, ‘नेपाल र भुटानका बैंक तथा फिन्टेक उद्योगको क्षमता अझ विस्तार गर्न ट्याब ग्लोबलजस्तो प्रतिष्ठित संस्थासँगको यो सहकार्य कोसेढुंगा सावित हुनेछ। ग्लोबल बैंकिङ अभ्यास, डिजिटल वित्तीय सेवा, तथा नवीनतम प्रविधिहरूमा नेपाली तथा भुटानी बैंकिङ प्रोफेसनल लाई जोड्ने अवसर पाउँदा हामी अत्यन्त उत्साहित छौं।’
सो सम्झौताले नेपाल र भुटानमा ट्याब ग्लोबलका सम्मेलन तथा तालिम कार्यक्रमहरूको प्रबर्द्धन गर्ने विशेष अधिकार काठमाडौं फिन्टेकलाई दिएको छ ।
त्यस्तै, नेपाली तथा भुटानी बैंक तथा फिन्टेक संस्थाहरूलाई ट्याब ग्लोबलका प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराउने जिम्मेवारी पनि काठमाडौं फिन्टेकले नै पाएको छ ।
यसका अतिरिक्त अब नेपाल र भुटानमा ट्याब ग्लोबलका अनुसन्धान, अन्तर्क्रिया तथा ब्रिफिङ कार्यक्रमहरू आयोजना गर्ने प्रमुख संयोजकको रूपमा काठमाडौं फिन्टेकको भूमिका स्थापित भएको छ ।
सो सम्झौताअनुसार काठमाडौं फिन्टेक ट्याब ग्लोबलको नेपाल र भुटानका लागि एकमात्र अधिकृत एजेन्ट हुनेछ, जसले यहाँका वित्तीय संस्थाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न, विश्वस्तरीय तालिम तथा सम्मेलनहरूमा सहभागी गराउन तथा बैंकिङ नवप्रवर्तनलाई प्रबर्द्धन गर्न मद्दत गर्ने छ।
प्रतिक्रिया दिनुहोस्