काठमाडौं । भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर ४५० एक्स र एसको नयाँ मोडल नेपाली बजारमा आएको छ । एथरको आधिकारिक विक्रेता वैद्य इनर्जीले शनिबार एथर ४५० एक्स र एसको नयाँ २०२५ मोडलका स्कुटर सार्वजनिक गरेको हो।
स्कुटर सार्वजनिक गर्दै इनर्जीका प्रबन्ध निर्देशक सूर्यान्स वैद्यले नेपालमा इलेक्ट्रिक दुई पाङ्ग्रेले धेरै ग्रोथ गर्न बाँकी रहेको बताए । उनले एथरले पहिलो प्राथमिकता सर्भिस र ब्याट्रीलाई दिएको बताए । त्यसैले अहिलेसम्म एथर नम्बर वान पोजिसनमा उभिन सफल भएको उनको भनाइ छ ।
कम्पनीले ९ वटा डिलर नेटवर्कसहित सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको वैद्यको दाबी छ। हालसम्म २१ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आइसकेको छ। आगामी दिनमा चार्जिङ नेटवर्कलाई १०० पुरा गर्ने काम भइरहेको वैद्य बताउँछन्।
अहिले एथरले निःशुल्क रुपमा स्कुटर चार्ज गर्न दिइरहेको छ। यो सुविधा २०२६ सम्म पनि निरन्तर हुने वैद्यले बताए । एथरले नयाँ स्कुटरको ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ। यसका लागि ग्राहकहरुले प्याकेज लिनुपर्ने हुन्छ। यसअघि ५ वर्ष वा ६० हजार किलोमिटसम्मलाई मात्रै वारेन्टी दिएको थियो । ७० प्रतिशत ब्याट्री हेल्थ हुँदासम्म कम्पनीले एसुरेन्स गर्नेछ। यो प्याकेज लिनको लागि ४५० एक्स २.९ किलोवाट आवर क्षमताको ब्याट्रीको ९ हजार ९९९ रुपैयाँ र ३.७ किलोवाट आवर क्षमताको ब्याट्रीको १२ हजार ४९९ रुपैयाँ अतिरिक्त तिर्नुपर्ने हुन्छ।
यसैगरी कम्पनीले ३ वटा प्याकेजमा एथर केयर सुविधा पनि ल्याएको छ। जसमा १ हजार ९९९ रुपैयाँ तिरेर २ वटा रेगुलर मर्मत र वेयर र टियर पार्टस् तथा लेबर चार्जमा १० प्रतिशत छुट पाइनेछ। एथर केयर प्लस प्याकेजमा २ हजार ४९९ रुपैयाँ तिरेपछि २ वटा रेगुलर मर्मत, वेयर तथा टियर पार्टस् १० प्रतिशत र लेबर चार्जमा १५ प्रतिशत छुटका साथै ३ वटा पोलिसिङ र वासिङको सुविधा पाइन्छ । यस्तै एथर केयर म्याक्समा ३ हजार ९९९ रुपैयाँ तिरेर २ वटा रेगुलर मर्मत तथा २ वटा ब्रेक प्याड निशुल्क हुनेछ ।
३.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५० एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस्तै २.९ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५० एक्सको ३ लाख ६४ हजार ९९९ रुपैयाँ र एथर ४५० एसको ३ लाख २४ हजार ९९९ रुपैयाँ तोकिएको छ । नयाँ मोडलमा रेन्ज पनि बढेर आएको छ। जसमा एथर ४५० एक्स ३.७ किलोवाट आवरले अब १३० किलोमिटर रेन्ज दिन्छ। यसअघि ११० किलोमिटरको रेन्ज थियो। यस्तै ४५० एक्स २.९ किलोवाट आवर भर्सनले १०५ किलोमिटर रेन्ज दिन्छ। यसअघि यसले ९० किलोमिटर रेन्ज दिने गरेको थियो।
एथर ४५० एक्समा अगाडि २०० एमएमको डिस्क ब्रेक र पछाडि १९० एमएमको डिस्क ब्रेक दिएको छ। कम्पनीले ६.४ किलोवाट पिक पावर भएको मोटर दिएको छ। जसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टाको छ । स्कुटरमा होल्ड, फलसेफ, लाइभ लोकेसन र ह्वाचएप कलहरुको पनि सुविधा छ।
प्रतिक्रिया दिनुहोस्