म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धार्मिक पर्यटकीयस्थल मालिकाधुरी जोड्ने सडक निर्माण भएको छ । गाउँपालिका र ठाडाखानीका बासिन्दाको करिब ६० लाख रुपैयाँको लगानीमा ठाडाखानीबाट मालिकाधुरी नजिकैको देउरालीसम्म पाँच किलोमिटर सडक निर्माण भएको हो ।
रघुगङ्गा–६ का वडासदस्य टेकजित छन्त्यालले पाँच वर्षको प्रयासपछि सडकको ट्र्याक खोलिएको जानकारी दिए । ‘गाउँपालिकाले यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा रु आठ लाखसहित पछिल्लो पाँच वर्षयता रु ४२ लाख खर्च गरेको छ’, उनले भने, ‘स्वदेश तथा विदेशमा रहेका ठाडाखानी बासिहरूले थप रु १८ लाख बढी चन्दा सङ्कलन गरेर देउरालीसम्म सडक पुर्याइएको हो ।’
सडकमा जिप, मोटरसाइकल र ट्याक्टर सञ्चालन हुन थालेपछि स्थानीयका साथै मालिका जानेआउने भक्तजन र पर्यटकलाई सहज भएको छ । यसअघि ठाडाखानीबाट मालिकाधुरी जानका लागि तीन घण्टा उकालो, जङ्गल र खोल्सा हुँदै यात्रा गर्नुपर्ने समस्या थियो ।
सडकमा सवारीसाधन गुड्न थालेपछि ठाडाखानीबाट ३० मिनेटमा देउराली र देउरालीबाट ३० मिनेट हिँडेर मालिकाधुरीमा पुग्न सकिने भएको ठाडाखानीका स्थानीय मन छन्त्यालले बताए । उनका अनुसार सडकको अन्तिम बिन्दु देउरालीमा स्थानीयको सहयोगमा आश्रयस्थल निर्माण थालिएको छ ।
देउरालीमा करिब ५० वटा सवारीसाधन राख्न सकिने पार्किङस्थल पनि निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाको १० लाख रुपैयाँ, रघुगङ्गा–८ घर भई हाल बुटवल बस्ने खिममाया र भरत छन्त्यालको रु आठ लाख लगानीमा देउरालीमा खानेपानीको सुविधा पुर्याइएको मनले जानकारी दिए ।
समुन्द्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा रहेको मालिकाधरी मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्दछ । यहाँबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनबढी हिमालका साथै सुर्योदय, सुर्यास्त, पहाडी भूगोल र वनजङ्गलको अवलोकन गन सकिन्छ ।
चण्डी, जेष्ठी र कार्तिक पुर्णिमामा विशेष दर्शन र पूजाआजा हुने यस मन्दिरको दर्शन गरेका मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । विसं १९१० देखि पूजाआजा हुन थालेको इतिहास रहेको मालिकामा कालिका, मालिका र जालपादेवीको मूर्ति रहेका छन् ।






प्रतिक्रिया दिनुहोस्