काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोडभन्दा बढी नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनामा कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा १.४० प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
समीक्षा अवधिसम्म ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ । समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउने बैंकमा नबिल रहेको छ । यो बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा ५ अर्बभन्दा बढी नाफा कमाएको छ। यो बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको भन्दा ८.२१ प्रतिशतले धेरै हो ।
नबिल बैंकबाहेक अरू कुनै पनि बैंकको नाफा ५ अर्बभन्दा माथि छैन् । यो अवधिमा सबैभन्दा धेरै नाफा वृद्धि गर्ने बैंकको शीर्ष स्थानमा भने नेपाल बैंक लिमिटेड रहेको छ । यो बैंकले गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षका ९ महिनाको अवधिमा २०३२.८० प्रतिशतले नाफा बढाएको छ । यो बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा कुल २ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ बढी नाफा कमाएको छ । यो बैंकको यस्तो नाफा गत आवको सोही अवधिमा भने १३ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नाफा घट्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनआइसी एसिया बैंक छन् ।
त्यस्तै, चालु आवको तेस्रो त्रैमासिकसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा नाफा वृद्धि गर्ने बैंकमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, एभरेष्ट, नेपाल बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा लक्ष्मी सनराइज, नेपाल एसबिआई र माछापुच्छ्रे बैंक छन् ।
चालु वर्षको फागुनसम्म नबिलले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ८.२१ प्रतिशतले बढेको छ।
सर्वाधिक नाफा आर्जन गर्ने बैंकको दोस्रो नम्बरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । यो बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा ३८.६१ प्रतिशतले बढेको छ।
तेस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले तेस्रो त्रैमासिकसम्मको अवधिसम्म ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ। गत आवको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३ अर्ब ३० करोड ६५ लाख रुपैयाँ रहेको थियो । बैंकले गत आवको तुलनामा चालु आवको ९ महिनामा ३७.१२ प्रतिशतले नाफा बढाएको छ ।
यसैगरी चालु आर्थिक वर्षको चैतसम्म एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
चैतसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यस्तै, चालु आर्थिक वर्षको ९ महिनामा लक्ष्मी सनराइज बैंकले १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड ४३ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ३२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
चैतसम्म सिजिजन्स बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, हिमालयन बैंकले ५० करोड रुपैयाँ, कुमारी बैंकले २८ करोड ५८ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।







प्रतिक्रिया दिनुहोस्