काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा ४.३५ प्रतिशतले बढेको छ । राष्ट्रिय स्तरका ८ विकास बैंकहरुको नाफा चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ पुगेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुको यस्तो नाफा ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा सर्वाधिक नाफा कमाउनेमा विकास बैंकमा गरिमा विकास बैंक अग्रस्थानमा रहेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा गरिमा विकास बैंकको नाफा ७.३२ प्रतिशले बढेर ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ६८ करोड ३४ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंक सबैभन्दा धेरै नाफा कमाउने सूचीमा दोस्रो नम्बरमा रहेको छ । यसअवधिसम्ममा बैंकले ७२ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.८६ प्रतिशतले कम हो । समीक्षा अवधिमा शाइन रेसुंगाा डेभलपमेन्ट बैंकको नाफा ५१ करोड ४० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ०.१३ प्रतिशतले मात्रै कम हो ।
यो अवधिसम्ममा कामना सेवा विकास बैंकको नाफा ४८ प्रतिशतले बढेर ४९ करोड ३१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकको १६.८७ प्रतिशतले बढेर ४३ करोड ६५ लाख रुपैयाँ रहेको छ । यो अवधिमा नाफा वृद्धि गर्ने विकास बैंकमा ज्योति विकास बैंक रहेको छ ।
यो बैंकले गत आवको सोही अवधिको तुलनामा १०१ १४ प्रतिशतले नाफा बढाएको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कुल ३० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा यो बैंकको यस्तो नाफा १५ करोड २४ लाख रुपैयाँ रहेको थियो ।
धेरै नाफा वृद्धि गर्ने बैंकको दोस्रो नम्बरमा सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ। सांग्रिलाले यो अवधिसम्ममा ६१.९७ प्रतिशतले नाफा वृद्धि गरेर ४३ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा भने यो बैंकको यस्तो नाफा १६ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्ने राष्ट्रिय स्तरको विकास बैंकमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकको नाफा ८५.४५ प्रतिशतले घटेर ४ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३४ करोड २१ लाख रुपैयाँ रहेको थियो।






प्रतिक्रिया दिनुहोस्