काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा ३१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको ९ महिनाको अवधिमा भन्दा चालु आवको ९ महिनामा नाफा ३१.९० प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा २२ करोड ४२ लाख रुपैयाँ मात्रै रहेको थियो । त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ६ अर्ब ३७ करोड रुपैयाँबाट बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने कम्पनीको कुल आम्दानी पनि ८ अर्ब ८९ करोड रुपैयाँबाट बढेर १० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
आम्दानी बढेसँगै कम्पनीको कुल खर्च पनि ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९ अर्ब ९१ करोड रुपैयाँ नाघेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४१ पैसा रहेको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ । कम्पनीको ईपीएस गत वर्ष ६ रुपैयाँ ५८ पैसा रहेकोमा चालु आवमा बढेर ७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।
त्यस्तै कम्पनीको जीवन बीमाकोष गत वर्ष ३१ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा चालु आवमा वृद्धि भएर ३९ अर्ब ४५ करोड रुपैयाँ नाघेको छ । चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ३९ करोड रुपैयाँ र जगेडा कोषमा ४२ करोड रुपैयाँ सञ्चिति रहेको छ ।






प्रतिक्रिया दिनुहोस्