Skip to content

भदौमा दीपक लिम्बू स्वर्णीम सांगीतिक साँझ हुने

nabil bank

काठमाडौं । गायक दीपक लिम्बूको पहिलो स्वर्णीम सांगीतिक साँझ हुने भएको छ । आगामी भदौ १७ गते लिम्बूको जन्मदिन र ‘नेपाली तारा’को विजेता बनेको २० वर्ष पूरा भएको अवसर पारेर सांगीतिक साँझ गर्न लागिएको आयोजक ओएस म्युजिकका प्रबन्ध निर्देशक आशिष भट्टराईले जानकारी दिए ।

संस्थाले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी गराएको हो । ‘लोकप्रिय गायक एवं पहिलो नेपाली तारा दीपक लिम्बूको पहिलो स्वर्णिम साँझको आयोजना गर्ने तयारी गरेका छौँ,’ भट्टराईले भने, ‘अग्रज कलाकारको सम्मान र ताप्लेजुङका बालबालिकालाई स्टेसनरी सहयोगार्थ कार्यक्रम गर्न लागेका हौँ ।’

कार्यक्रम साँझ पाँच बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ । कार्यक्रमको संगीत संयोजन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य अशोक लोहोरुङ राई छन् । २५ जना लाइभ वाद्यवादकको टिमसँग गायक लिम्बूले आफ्ना र अग्रज कलाकारका गीत प्रस्तुत गर्नेछन् । टिकटदर १ हजार र ५०० रुपैयाँ रहेको छ ।

सांगीतिक साँझलाई लिएर आफू उत्साहित रहेको गायक लिम्बूले बताए । “ यो सांगीतिक साँझ पछिल्लो २० वर्षमा नेपाली गीत संगीतसँग जोडिएर मैले के कति काम गर्न सकेछु, त्यसको लेखाजोखा गर्ने माध्यम बनोस् भन्ने मलाई लाग्छ । त्यसैले पनि म एकदमै खुसी छु,’ गायक लिम्बूले भने, ‘नेपाली गीत संगीतलाई माया गर्ने मेरो शुभचिन्तकहरू उपस्थित भइदिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’

लिम्बू २०६२ सालमा बृहत् गायन प्रतियोगिता ‘नेपाली तारा’ पहिलो संस्करणको विजेता बनेका थिए । त्यसपछि उनले नेपाली चलचित्रमा एक पछि अर्को हिट गीतहरू दिए । उनका आधुनिक गीतहरू पनि चर्चित छन् । ‘मैले त्यही भएर मन पराको’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमीले’, ‘ढल्क्यो ढल्क्यो’, ‘मैले माया गर्न जानिनँ होला’जस्ता दर्जनौँ गीत सर्वाधिक लोकप्रिय छन् । उनले २०७३ सालमा नारायणगोपाल युवा संगीत पुरस्कार पाएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime