काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सवा १ अर्बमाथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनासम्मको अवधिमा बीमा कम्पनीहरुले कुल १ खर्ब २६ करोड १८ लाख १२ हजार रुपैयाँको व्यवसाय गरेका हुन् ।
सञ्चालनमा रहेका १४ वटा ठूला बीमा कम्पनीहरुले चैत मसान्तसम्मको अवधिमा १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमालेखमार्फत उक्त रकमको बीमा शुल्क संकलन गरेका हुन् । चैत मसान्तसम्मको अवधिमा सबैभन्दा धेरै बीमा व्यवसाय गर्न सफल कम्पनी नेपाल लाइफ इन्स्योरेन्स हो ।
यो कम्पनीले यस अवधिसम्ममा ३३ अर्ब रुपैयाँ बढीको बीमा शुल्क संकलन गर्न सफल भएको छ । यो कम्पनीले चैत मसान्तसम्मको अवधिमा ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।
धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीको दोस्रो नम्बरमा नेसनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा १५ अर्ब ६४ करोड रुपैयाँको कारोबार बीमा व्यवसाय गर्न सफल भएको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) रहेको छ । यो कम्पनीले चैत महिनासम्मको अवधिमा १४ अर्बको व्यवसाय गरेको छ ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार तेस्रो त्रैमाससम्मा हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८४ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ र सिटिजन लाइफले ५ अर्ब ८ करोड रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।
त्यस्तै चैत मसान्तसम्मको अवधिमा रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ, सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ, आईएमी लाइफ इन्स्योरेन्सले ३ अर्ब ७७ करोड रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सले ६ अर्ब ४६ करोड रुपैयाँको बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै यो अवधिमा मेट लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
सञ्चालनमा रहेका ठूला जीवन बीमा कम्पनीहरुले चैत महिनामा मात्रै १७ अर्ब ४६ करोड ९८ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् । यो अवधिमा लघु जीवन बीमा कम्पनीहरुले कुल ८५ करोड ५६ लाख रुपैयाँको बीमा व्यवासाग गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्