Skip to content

गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछः पूर्वअर्थमन्त्री पुन

nabil bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन् ।

पार्टी सम्वद्ध रोल्पा काठमाण्डौं सम्पर्क समन्वय समितिद्वारा चन्द्रागिरीमा आयोजना गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको बताए ।

यसअघि विभिन्न नियामक निकायमा स्वार्थ समूह र बिचौलियाको स्वार्थमा नियुक्ति गरेको सरकारले उनीहरुकै चाहनामा गभर्नर नियुक्त गर्न चाहेको उनको भनाइ थियो ।

‘नियामकीय भूमिकामा रहनुपर्ने राष्ट्र बैंकको गभर्नरजस्तो पदमा नियुक्तिका लागि अरबौंको आर्थिक डिल भएको समाचार सार्वजनिक सञ्चार माध्यमहरुमा आइरहेका छन्’, पुनले भने, ‘हामी सरकारलाई चेतावनीका साथ भन्न चाहन्छौं स्वार्थ समूहका प्रतिनिधिलाई राष्ट्र बैंक जिम्मा लगाउने काम नहोस् ।’

पुनले पैसामा खरिद गरेर गभर्नर वा नियामकीय जिम्मेवारी प्राप्त गर्नेले पनि आफू सधैं पदमा रहिरहने नसोच्न चेतावनी दिए । ‘स्वार्थ समूहको प्रतिनिधि भएर राज्यका नियामकीय भूमिकामा नियुक्ति पाउनेहरुले सोचे हुन्छ, को कसरी नियुक्त भएको छ भन्ने सबैले हेरिरहेको छ । हामीले पनि हेरेका छौं ।’

पुनले राज्यका निकायहरुमार्फत अर्थतन्त्रमा कब्जा जमाउन चाहने स्वार्थ समूहले नै वर्तमान काँग्रेस–एमाले सरकार बनाएको विभिन्न घटनाक्रमले पुष्टि गरेको बताए । उनले काँग्रेस–एमाले सरकार पूर्ण रुपमा असफल भएको पनि टिप्पणी गरे ।

दुई तिहाईको सरकार विकास निर्माण, सुशासन र जनअपेक्षामा पूर्णतः चुकेको भन्दै पुनले सोही कारण जनतामा चरम निराशा र आक्रोश बढेको उल्लेख गरे । काँग्रेस–एमालेको कूशासन र अक्षमताका कारण जनतामा बढेको निराशालाई राजावादीहरुले आफ्नो स्वार्थमा उपयोग गर्न खोजेको चर्चा पुनले गरे ।

‘हामीले १० वर्षसम्म लडेर गणतन्त्र र लोकतन्त्र ल्यायौं । हामीले रैतीबाट जनता बनाएका केही मानिसहरु हामी जनता हुन चाहन्नौं । रैती भएर बाँच्न चाहन्छौं भन्दै हिंडेका छन्’, पुनले भने, ‘सार्वभौम भइसकेका नेपाली जनता अब कसैका रैती हुन चाहँदैनन् ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi