काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९८.८४ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ६ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ४ करोड ४६ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.१९ प्रतिशत बढेको छ भने अन्य खुद फि तथा कमिशन आम्दानी १६.५५ प्रतिशत घटेको छ ।
त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १८.१२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९८.७४ प्रतिशत घटेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ४.९७ प्रतिशतबाट बढेर १४.३५ प्रतिशत पुगेको छ । यससँगै गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ करोड ५५ लाख रुपैयाँ रिभर्स भएको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ९४ पैसा घटेर १६ पैसामा झरेको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५ हजार ५०९.७५ गुणा रहेको छ ।
४९ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ७७ लाख रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ५ अर्ब २ करोड ७४ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ६६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।






प्रतिक्रिया दिनुहोस्