काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सको नाफामा भारी गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा ५७.६५ प्रतिशतले नाफा घटेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा कुल ११ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा २७ करोड ४१ लाख रूपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ७८ करोड ४४ लाख रूपैयाँबाट ८.१६ प्रतिशतले घटेर ७२ करोड ४ लाख रूपैयाँ पुगेको छ ।
चालु आवको ९ महिनासम्मको अवधिमा कम्पनीको आम्दानी १३.४१ प्रतिशतले घट्दा खर्च भने ८.५८ प्रतिशतले बढेको छ । आम्दानी १ अर्ब २७ करोडबाट घटेर १ अर्ब १० करोड रूपैयाँमा झर्दा खर्च ८६ करोड ७७ लाखबाट बढेर ९४ करोड २१ लाख रूपैयाँ नाघेको छ । २ अर्ब १० करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड रूपैयाँ र जगेडा कोषमा १६ करोड ५८ लाख रूपैयाँ रहेको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ७.३७ रूपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.५९ रूपैयाँ छ।






प्रतिक्रिया दिनुहोस्