काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाप्रति विश्वसनीयता बढाउने गरी काम गर्न निर्देशन दिएका छन् । आज नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले आम बीमितप्रति विश्वास बढाउने गरि काम गर्न निर्देशन दिएका हुन् ।
समग्र बीमा क्षेत्रको विश्वसनीयता बढ्ने गरी जिम्मेवारीपूर्वक इमान्दारिताका साथ काम गर्न उनले बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । ‘बीमा व्यवसायको हालसम्मको अवधिको समीक्षा गर्नु आवश्यक छ, जोखिम हस्तान्तरण गरेर वित्तीय सुरक्षण गर्न सकिन्छ भनेर आम नागरिकलाई आश्वस्त पार्नुपर्छ, दाबी भुक्तानी लगायतमा देखिएका कमी कमजोरीहरूलाई घटाउँदै शून्यमा झार्नुपर्छ,’ अध्यक्ष ओझाले भने ।
बीमाप्रतिको विश्वसनीयता अभिवृद्धि, सेवामा सुधार, नविनतम् प्रविधि अवलम्बन र पहुँच वृद्धिको प्रक्षेपण सहितको वार्षिक कार्यक्रम ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिदै अध्यक्ष ओझाले भने, ‘बीमा कम्पनीहरू सरकारबाट बीमा गर्नैपर्ने गरी गरिएका बाध्यकारी क्षेत्रबाट बाहिर निस्कनुपर्छ, नयाँ नयाँ क्षेत्रमा जानुपर्छ, समग्र बीमा क्षेत्रको विकास एवम् विस्तारमा आवश्यक सहयोग गर्न प्राधिकरण तयार छ ।’
अध्यक्ष ओझाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम सर्वसाधारणसम्म लाभ पुग्ने गरी उपयोग गर्न समेत बीमा कम्पनीहरूलाई निर्देशन दिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा कम्पनीहरूले बीमा व्यवसाय मात्र नभई सेवा पनि हो भन्ने भावनाले काम गर्नुपर्ने र बीमा व्यवसायलाई थप मर्यादित एवम् व्यवस्थित बनाउँदै अघि बढ्नुपर्ने बताए ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आयोजित ब्याडमिन्टन तथा फुटसल प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गरेका थिए । प्रभातफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा कर्मचारीहरू, नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ, नेपाल लघुबीमक संघ, नेपाल बीमा सर्भेयर संघ, पेशागत बीमा अभिकर्ता संघ र नेपाल इन्स्योरेन्स ब्रोकर संघका अध्यक्ष तथा पदाधिकारीहरू र बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्राधिकरणद्वारा आयोजित प्रभातफेरी ¥याली बीमा सम्बन्धी विभिन्न जानकारीमूलक सन्देशहरू अङ्कित प्लेकार्ड तथा ब्यानरहरू प्रदर्शन गर्दै भद्रकालीदेखि सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।






प्रतिक्रिया दिनुहोस्