खोटाङ । खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाको सिमानामा पर्ने सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ ।
कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको सर्त अनुदानअन्तर्गत ८ करोड २१ लाख ७२ हजार ८ सय ९४ रुपैयाँ लागतमा निर्माण गरिएको उक्त पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीको सिमानामा अवस्थित सावाखोलाको भानुमती घाटमा निर्माण गरिएको ४१ दशमलव ४० लम्बाइ तथा आठ दशमलव ४० मिटर चौडाइको पुल आज कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले उद्घाटन गरे ।
खोटाङबजार–चिसापानी सडक निर्माण गरेर सञ्चालनमा आएको लामो समयसम्म पक्की पुल अभावमा यातायात अवरुद्ध हुँदै आएपछि समस्यामा रहेका दक्षिणी क्षेत्रका स्थानीयवासी सावाखोलामा मोटरेबल पक्की पुल निर्माण भएर सञ्चालनमा आएपछि हर्षित भएका छन् ।
पुल उद्घाटन कार्यक्रममा मन्त्री राईले खोटाङको समग्र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएको बताए ।
‘सावाखोलाको पक्की पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएका छौं । बुँवाखोलाको पुल द्रुत गतिमा निर्माण भइरहेको छ । सुनकोशीस्थित बङ्शिला घाटको पक्की पुल पनि समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौँ’, उनले भने, ‘सुनकोशीको बङ्शिलाघाट र धाप्लाङघाटको पक्की पुल निर्माण भएपछि खोटाङवासीको दुःखका दिन सकिन्छन् । त्यसपछि खोटाङवासीको समृद्धिको बाटो खुल्छ ।’
मन्त्री राईले दिक्तेल–गाईघाट खण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि अवरुद्ध बनेको पूर्वी तराईसँगको आवतजावतलाई सहज बनाउन प्रदेश सरकारको लगानीमा फोक्सिङटारबाट धाप्लाङघाटसम्मको नयाँ सडक निर्माण सुरु गरिएको जानकारी दिए ।
नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहेका मन्त्री राईले खोटाङको विकास, निर्माणमा हातेमालो गर्दै अगाडि बढ्न सबै जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूलाई आह्वानसमेत गरे ।
सावाखोलामा मोटरेबल पक्की पुल निर्माण भएसँगै खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयवासीलाई बेलटार हुँदै तराई झर्न र जन्तेढुंगा तथा बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई सदरमुकाम दिक्तेल र इलाका प्रशासन कार्यालय खोटाङबजार आवतजावत गर्न सहज भएको खोटेहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राईले बताए ।
उद्घाटन कार्यक्रममा दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सम्बन्धित मन्त्रालयका सचिव तथा इन्जिनियर, स्थानीयवासीलगायतको उपस्थिति थियो ।
दुई वर्षभित्र सम्पन्न गर्नेगरी विसं २०८० वैशाख ११ गते निर्माण कम्पनीले सडक विभागसँग सम्झौता गरेर काम सुरु गरेको थियो । निर्माण कम्पनीले समयमै पुल सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि आज औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
जिल्लाको दक्षिणी क्षेत्रबाट पूर्वी तराई जोड्ने खण्डमा निर्माण गरिएको उक्त पुलको दुवैतर्फ एक दशमलव २० मिटरको फुटपाथ निर्माण गरिएको छ । पुलमा यातायात गुडिरहेको समयमा समेत सर्वसाधारणलाई पैदल यात्रा गर्न मिल्ने गरी फुटपाथ निर्माण गरिएको निर्माण कम्पनीका सञ्चालक महेश रेग्मीले जानकारी दिए ।
हिउँदको समयमा करिब छ महिनामात्र सवारीसाधन सञ्चालन हुँदै आएको खोटाङबजार–चिसापानी खण्डको सावाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएपछि बाह्रै महिना यातायात सेवा उपलब्ध गराउने तयारी गरिएको यातायात व्यवसायीहरूले बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्