Skip to content

मौद्रिक नीति समीक्षा : बैंक वित्तीय संस्थाले अब दैनिक ९० प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्यूनतम मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै सेयर धितो कर्जाको जोखिम भार घटाइएको छ ।

राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनीक गर्दै नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर भने यथावत राखेको छ ।

‘आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ । नीतिगत दरलाई विद्यमान पाँच प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई साढे ६ प्रतिशतमा यथावत राखिएको छ,’ समीक्षामार्फत राष्ट्र बैंकले भनेको छ, ‘विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ ।

वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय खुला बजार कारोबार उपकरणमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ ।’

विद्यमान सेयर धितो कर्जाको जोखिम भार पनि घटाइएको छ । हाल सेयर धितो कर्जामा रहेको कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ । कानुनी सुधारतर्फ पनि राष्ट्र बैंकले केही नयाँ व्यवस्था ल्याउन लागिएको छ ।

लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थालाई समावेश गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गरिने जनाइएको छ । त्यस्तै, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime