काठमाडौं । साधारण सेयर (आईपीओ) निष्कासनमा ५ र ७ प्रतिशत कमिसन मागेको विषयमा धितोपत्र बोर्डलाई स्वतन्त्र उर्जा उत्पादनको संस्था (इप्पान)ले जवाफ पठाएको छ ।
आईपीओको पाइपलाइनमा रहेका कम्पनीलाई छिटो सेयर निष्कासनमा सहजीकरण गर्ने भनेर सेबोनका अध्यक्षका नाम लिएर बिचौलियाले ५ र ७ प्रतिशत कमिसन मागेको विषय सार्वजनिक भएपछि इप्पानलाई बोर्डले स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ केही दिनअघि पठाएको इप्पानले जानकारी गराएको छ ।
जवाफमा इप्पानले बिचौलियाले बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठको नाम लिएर कमिसन मागेको दाबी गरेको छ । ‘तपाईंको नाम लिएर बिचौलिया प्रवर्धकमा पुगेका हुन् । धेरै प्रवर्धहरुले अध्यक्षको नाम जोडेर कमिसन मागेको गुनासो गर्नुभयो’ इप्पानले पठाएको जवाफमा भनिएको छ, ‘बिचौलियाले कमिसन मागेका हुन् । हाम्रा प्रवर्धकहले तपाईले माग्नु भयो भन्नु भएको छैन । यो विषयमा हामीले प्रवर्धकलाई सचेत गराएका छौं ।’
इप्पानले पत्रमार्फत आफ्ना सदस्यलाई सचेत गराउँदै आगामी दिनमा बिचौलियाको पछि नलाग्ने र कुनै बिचौलिया आयो भने उसको विरुद्धमा कानुनी अधिकार प्रयोग गर्न लगाउने पत्र मार्फत बोर्डलाई जानकारी गराएको छ ।
अहिले बिचौलीयाले कमिशन मागेको विषयमा कुनै प्रमाण फेला परेमा अख्तियारलगायत सम्बन्धित निकायमा पठाउने पत्रमा उल्लेख छ ।
कमिसनको विषयमा बाहिर चर्चा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अख्तियारले धितोपत्र बोर्डमा छापा मारेर आवश्यक कागजातसमेत लिएको छ । यता इप्पानका अध्यक्ष गणेश कार्की लगायतले अख्तियारमा गएर बयानसमेत दिइसकेका छन् ।
इप्पानले धितोपत्र बोर्डलाई कमिसनको विषय इप्पानको आधिकारीक धारणा नभएपनि सदस्यलाई परेको पिर मर्काका विषयमा आएको गुनासो लिएको जनाएको छ । सबोनेले २३ महिनादेखि आईपीओ निष्कासनमा रोक लगाएपछि सेयर निष्कासनका लागि बोर्डमा पटक–पटक धाएको तर सेयर निष्कासन गर्न बोर्डले अनुमति नदिएको समेत स्मरण गराएको छ ।
बोर्डले करिब ४२ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छैन । पाइपलाइनमा रहेका कम्पनी इप्पानका पूर्वअध्यक्ष, अध्यक्ष, उपाध्यक्ष, सदस्यलगायत साधारण सदस्यको कम्पनी रहेको छ ।






प्रतिक्रिया दिनुहोस्