Skip to content

धुर्कोट–इस्मा जोड्ने झोलुङ्गे पुल निर्माण, लागत १ करोड ८४ लाख

तम्घास । गुल्मीमा दुई गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्लाको पश्चिम क्षेत्रका धुर्कोट र इस्मा गाउँपालिका जोड्ने गरी तीन सय ७० मिटर लामो झोलुङ्गे पुलको निर्माण गरिएको हो ।

छल्दी खोलामाथि निर्माण गरिएको पुलले धुर्कोट गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको अम्मरपुर जोड्छ । एक करोड ८४ लाख रूपैयाँको लागतमा सस्पेन्सन ब्रिज डिभिजन ललितपुरमार्फत निलगिरी निर्माण सेवा प्रालिले पुल निर्माण गरेको हो । एकैपटकमा झन्डै आठ सय नागरिकले आवतजावत गर्न सक्ने क्षमता पुलको छ ।

झोलुङ्गे पुलले बिचित्र गुफालाई राजमार्गबाट नजिक बनाएको छ । त्यसैगरी हिमालय माविका विद्यार्थीलाई विद्यालयसम्म आवातजावत गर्न, घाँस, दाउरा गर्न एवं स्थानीयको दैनिकीमा सहजता आएको छ । ‘केही वर्ष पहिले खोला तर्ने क्रममा पाँच वर्षीय बच्चालाई आमाकै काखबाट खोलाले बगाएको थियो, बच्चालाई हामीले हुलाकेमा मृत फेला पारेका थियौँ’, स्थानीय बोमलाल भण्डारीले भने, ‘अहिले पुल बनेको छ, हाम्रो दैनिकी फेरिएको छ ।’ उनले पुलले वस्तु र अम्मरपुरका धेरै नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको बताए ।

धुर्कोट गाउँपालिका–५ को वस्तुमा प्राकृतिक रूपमै बिचित्रको गुफा छ । यो पुलले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारीबाट नजिक बनाएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई पनि सजिलो भएको छ । राजमार्गबाट पाँच मिनेटमा पुल तरेपछि १० मिनेटमा बिचित्र गुफा पुग्न सकिने भएको छ ।

छल्दीखोला झोलुङ्गे पुल लामो भएकाले आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ । लामो तथा अग्लो स्थानमा निर्माण गरिएको पुलका कारण दैनिक घुम्न, हावा खान र फोटो खिचाउन आउनेको घुइँचो लाग्ने गरेको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिए।

धुर्कोट गाउँपालिका–५ वस्तुको यो गुफा पत्ता लागेका तीन दशक बढी भयो । तर, संरक्षण र उचित विकास समयमै हुन सकेन । शान्ति प्रक्रियापछि गुफा संरक्षणका केही काम भएका छन् । सदरमुकाम तम्घासबाट ४५ मिनेटमा बिचित्र गुफा पुगिन्छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी खण्डबाट गुफा पुग्न १५ मिनेट लाग्छ । गुफाभित्र फेलापरेका संरचनालाई स्थानीयले सभाहल, रामजानकी आश्रम, शिवालय, स्वर्ग जाने बाटोलगायत नामकरण गरेका छन् ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पुलले धुर्कोटको पर्यटन विकासलाई वृद्धि गर्ने बताए । उनले बाह्य पर्यटकको पनि घुइँचो हुने बिचित्र गुफामा अझै सडकको आवश्यकता रहेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi