काठमाडौं । कामना सेवा विकास बैंकले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा शनिबार काठमाडौंका विभिन्न स्थानमा रहेका दृष्टिविहीनहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।
बैंकका ब्राण्डिङ तथा सीएसआर विभाग प्रमुख सुशील पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, डिजिटल कारोबार, डिजिटल ठगी लगायतका विषयहरुमा वित्तीय साक्षरता प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा ४० जनाभन्दा बढी दृष्टिविहीनहरुको उपस्थिति रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमको समापनमा बोल्दै दृष्टिविहीन कृष्ण खत्री अविरलले वित्तीय साक्षरता समयमै नपाउँदा आफूले बैंकमार्फत कारोबार नगरेको, आफूले कमाएको, बचाएको पैसा साथीहरुलाई राख्न दिनुपरेको र उक्त पैसाको जतन हुने नहुने कुरामा समेत आफू विश्वस्त हुन नसकेको बताए ।
दृष्टिविहीनहरुले पनि अन्य व्यक्तिहरुले सरह अब बैंकमा खाता खोलेर कारोबार गर्न मिल्ने भएपछि अबदेखि आफ्ना वित्तीय कारोवारहरु बैंकमार्फत मात्र गर्ने बताए । सोही कार्यक्रममा बोल्दै दृष्टिविहीन बिक्रम पथरियाले वित्तीय साक्षरता कार्यक्रमपश्चात आफूलाई सानो बचतले भविष्यमा ठुलो काम गर्न सकिने आशा पलाएको बताए ।
सोही कार्यक्रममा बोल्दै सर्वोदय परियोजनाका सौगात वाग्लेले दृष्टिविहीनहरुलाई कामना सेवा विकास बैंकले अन्य व्यक्तिहरुलाई जस्तै मोबाइल बैंकिङ, एटिएम कार्डलगायतका सुविधाहरु प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । वाग्ले आफू पनि दृष्टीविहीन भएको र अन्य व्यक्तिहरुले जस्तै बैंकिङ सेवाहरु प्राप्त गरि सुरक्षित रुपले बैंकिङ सेवाहरु उपभोग गरिरहेको बताए ।
कामना सेवा विकास बैंकले दृष्टिविहीनहरुलाई लक्षित गरेर स्वाभिमान बचत खाता सञ्चालनमा ल्याइरहेको छ । उक्त खाता खोलेका दृष्टिविहीनहरुले अन्य व्यक्तिहरुले सरह मोबाईल बैंकिङ, एटिएम कार्डलगायतका सुविधाहरु प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
सो बैंकले उक्त खाता खोल्नको लागि दृष्टिविहीन भएकै कारणले अतिरिक्त कुनै पनि कागजात वा अन्य कोही साक्षी आवश्यक नपर्ने र खाता सञ्चालनसम्बन्धी सर्तहरु ब्रेललिपीमा समेत उपलब्ध गराउने गरेको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्