काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालका लागि आगामी ५ वर्षको नयाँ विकास रणनीति सार्वजनिक गरेको छ ।
सन् २०२५ देखि २०२९ सम्म लागू हुने देशीय साझेदारी रणनीति मार्फत एडीबीले नेपालको समावेशी, हरित, दिगो र रोजगारीमुखी आर्थिक विकासमा सहयोग गर्ने जनाएको छ ।
एडिबीले सन् २०२५ देखि २०२९ भित्र नेपाललाई करिब २.३ अर्ब अमेरिकी डलर अर्थात ३ खर्ब १६ अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको सस्तो ऋण उपलब्ध गराउने योजना बनाएको जनाइकएको छ ।
साथै, परियोजनाको प्रकृति हेरेर अनुदान दिने जनाएको छ । विकासका कामहरू नीति सुधार, पूर्वाधार निर्माण, र संस्थागत क्षमता अभिवृद्धि मा केन्द्रित हुनेछन् । एडीबीले हरित बन्ड, स्थानीय मुद्रा बन्ड, तथा सहवित्तपोषणमार्फत थप स्रोत जुटाउने योजना पनि बनाएको छ ।
एडीबीले निजी क्षेत्रको नेतृत्वमा हरित आर्थिक रूपान्तरण, सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य जस्ता सेवा तथा मानव विकास र वातावरण जोगाउने र जलवायु परिवर्तनको असर सहन सक्ने प्रणाली निर्माणलाई मुख्य प्राथमिकतामा राखेको छ ।
एडीबीका नेपाल प्रमुख आर्नो काउचुइसले भने, ‘नेपाल अब न्यूनतम विकसित देशबाट अगाडि बढ्ने क्रममा छ । यस्तो अवस्थामा एडिबीको यो रणनीतिले नेपालको आर्थिक विकासलाई दिगो र समावेशी बनाउने काम गर्नेछ ।’
उक्त रणनीति सरकारको १६औं योजना तथा हरित, सहनशील र समावेशी विकास अवधारणासँग मिल्दोजुल्दो रहेको छ । यसले नेपालको डिजिटल प्रविधि, सुशासन, संघीयता सुदृढीकरण, र महिला तथा पिछडिएका समूहहरूको सशक्तीकरण मा जाने दिने जनाइएको छ ।
एडीबीले आफ्नो सहयोगबाट रोजगारी सिर्जना, निजी लगानी प्रवद्र्धन र विकासको दीर्घकालीन टिकाउलाई मुख्य लक्ष्य बनाउँदै आएको छ ।
एडीबी र विश्व बैंकले नेपालमा हुने कुल विकास खर्चको करिब ७० प्रतिशत हिस्सा सहयोग गरिरहेका छन् । अब यी दुई संस्थाले अझ सहकार्य गर्दै संयुक्त लगानी, ज्ञान आदानप्रदान, र नीतिगत संवादलाई पनि अगाडि बढाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्