काठमाडौं । यस साता सेयर बजार मापक नेप्से परिसूचक समग्रमा २६ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार २६५५.३८ बिन्दुमा रहेको सेयर बजार मापक नेप्से परिसूचक यस साताको अन्तिम कारोबार दिन बिहीबारसम्म आउँदा २६२८.९१ बिन्दुमा झरेको छ ।
गत साताको बिहीबार घटेको सेयर बजार यस साताको आइतबार ०.४७ अंकले बढेर २६५५.८५ बिन्दुमा पुगेको थियो । यसैगरी, साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार २.८० अंकले बढेको थियो । यस पछिको तीन कारोबार दिन नेप्से सूचक निरन्तर घटेको हो ।
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचक ३.९० अंकले घटेर २६५४.७५ बिन्दुमा आयो । यसैगरी, चौथो कारोबार दिन बुधबार पनि नेप्से सूचकको गिरावट रोकिएन । यस दिन यस्तो सूचक १.०७ अंकले घटेर २६५३.६८ बिन्दुमा झर्यो ।
यस साता सेयर बजारमा नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार १२ अर्ब ६ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यस साताको अन्तिम कारोबार दिन आउँदा कारोबार १० अर्ब ९९ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
गत सातको बिहीबारको तुलनमा यस साताको आइतबार पनि सेयर कारोबार रकम खस्केको छ । आइतबार ११ अर्ब २१ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसैगरी, आइतबारको तुलनमा सोमबार भने सेयर कारोबार बढेको थियो । सोमबार सेयर बजारमा १२ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबारपछि मंगलबार सेयर बजारमा सबैभन्दा थोरै कारोबार रकमको सेयर खरिद बिक्री भएको छ ।
मंगलबार ७ अर्ब ४९ करोड २६ लाख रुपैयाँ बराबरको मात्र सेयर खरिद बिक्री भएको छ । यसैगरी, मंगलबारको तुलनमा बुधबार र बिहीबार भने सेयर कारोबार रकम बढेको छ । बुधबार सेयर बजारमा ८ अर्ब ७८ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।






प्रतिक्रिया दिनुहोस्