Skip to content

गभर्नर पौडेल र सेयर लगानीकर्ताको भेटः १५ करोडदेखि १५ प्रतिशतसम्मको सीमा हटाउन माग

काठमाडौं । सेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेका छन् । भेटमा नेपालको आर्थिक प्रणालीको स्थायित्व, वित्तीय अनुशासन तथा समग्र आर्थिक विकासमा नयाँ युगको सुरुवात हुने अपेक्षा रहेको जनाएका छन् ।

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा स्थायित्व, तरलता, उत्तरदायित्व तथा पारदर्शिता कायम गर्न भूमिका निर्वाह गर्दै आएको स्मरण गराएका छन् । गभर्नर पौडेलको कार्यकालमा लगानीकर्ता मैत्री, प्रविधिमैत्री तथा आर्थिक विकासमा केन्द्रित भएर अझ प्रभावकारी रूपमा सेयर बजार अघि बढ्ने अपेक्षा रहेको जनाएका छन् । नेपालको पुँजीबजार हाल अत्यधिक अस्थिरताबाट गुज्रिरहेको भन्दै नेप्से परिसूचक विगत वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेर लगानीकर्ताहरूको पुँजिमा ह्रास आएको जनाएका छन् ।

यसको मुख्य कारण विगतको मौद्रिक नीतिको पुँजिबजारमा परेको नकारात्मक प्रभाव रहेको लगानीकर्ताको भनाइ छ । मौद्रिक नीतिले निर्देशन गरेको मार्जिन ऋण नीतिहरू, बैक तथा वित्तीय संस्थालाई जारी गरिएको पुँजिबजार विरोधी एकीकृत निर्देशन, सूचीकृत कम्पनीहरूको मूल्य घट्दै जानु, ब्याजदरको उतार चढाव, सीमित रूपमा रहेका संस्थागत लगानीकर्ताहरू सक्रिय नहुनु जस्ता कारणले बजारमा नकारात्मक असर पारेको लगानीकर्ताको भनाइ छ ।

हाल देशभर ६८ लाखभन्दा बढी हितग्राही खाताहरू सक्रिय रहेको तर दैनिक कारोबार रकम र सहभागिता दिनानुदिन घट्दो क्रममा रहेको छ । यसले निजी क्षेत्र र आम लगानीकर्ताको लगाब र मनोविज्ञान कमजोर बनाएको छ । यस्तो अवस्थामा, पूँजी बजारमा लगानीकर्ताहरूको विश्वास पुनःस्थापना हुनु अत्यावश्यक रहेको उनीहरुको भनाइ छ ।

लगानीकर्ताहरुले भेटमा बैंक वित्तीय संस्थाले व्यक्तिगत तर्फ प्रदान गर्ने एकल परिवार १५ करोडको सिमा पूर्णरूपमा खारेज गर्नुपर्ने सुझाव दिएका छन् । यसले लगानीकर्ताको पहुँच र विश्वस्त वातावरण निर्माणमा मद्दत पुर्याउने लगानीकर्ताहरुको माग छ ।

लघुवित्त संस्थालाई १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने भन्ने विषयको सन्दर्भमा नेपालले अंगिकार गरेको खुल्ला अर्थनीति सिद्धान्त विपरीत नीति भएकोले हालको उक्त व्यवस्थालाई हटाई लघुवित्त संस्थाहरूलाई कार्य सम्पादनमा पुर्ण स्वतन्त्रता प्रदान गर्नुपर्ने सुझाप दिएका छन् ।

हालको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पुँजिकोषको पुँजिबजारमा लगानी गर्ने सीमालाई परिमार्जन गरी बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा व्यवस्था भए वमोजिमको सिमा कायम राख्नुपर्ने आवश्यकता रहेको जनाएका छन् ।

यस्तै गैर आवासीय नेपालीलाई पुँजिबजारमा लगानी गर्नका लागि हालको विधमान कानुनी अड्चनले सो निवेशसहितको नाफा पुनः फिर्ता लैजान नसक्ने विधमान कानुनी अवस्था रहेकोमा उक्त जटिलतालाई परिमार्जन गरी गैर आवासीय नेपालीलाई नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गरी आवश्यक लगानीको वातावरण श्रृजना गर्नुपर्ने देखिन्छ । लगानीकर्ताले आगामी आवको मौद्रिक नीतिमा सबै सुझाव समावेश गरेर पुँजीबजारमा स्थायित्वमा सहयोग गरिदिन अनुरोध गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi