Skip to content

धमाधम सेयर बिक्री गरेर बाहिरिन थाले नयाँ ब्रोकरका संस्थापक, संस्था चलाउन धौ-धौ

nabil bank

काठमाडौं । अघिल्लो सेयर बजारको बुलमा लगानीकर्ताले मात्रै कमाएनन्, धितोपत्र बोर्ड, नेप्से, सिडिएससीले कमिसनबाट राम्रो आम्दानी गरे । सबैले आम्दानी गरेपछि धितोपत्र ब्रोकरले नकमाउने कुरै भएन । ब्रोकर कम्पनीले पनि राम्रो आम्दानी गरे । त्यो बेला नेपालमा ब्रोकरको संख्या ५० मात्रै थियो ।

त्यो बुलमा कमाएको देखेपछि धेरैलाई ब्रोकर कम्पनी खोल्नुपर्ने रहेछ, रातारात मालामाली भइने रहेछ भन्ने लाग्यो । केही टाठाबाठाहरुले लगानीकर्ताको संघ संगठनलाई उचालेर गाउँगाउँमा ब्रोकर पुर्याउनुपर्छ भन्दै नयाँ ब्रोकर चाहिन्यो भन्न लगाए । शक्तिका खेलाडीहरुले कर्मचारीतन्त्रदेखि नेता, मन्त्रीसम्मलाई प्रभावमा पारेर ४२ वटा ब्रोकर कम्पनी खोले ।

धितोपत्र बोर्डको अध्यक्ष भएको समयमा अध्यक्ष रमेश हमालले निकै मेहनत गरेर तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई ब्रोकरको मर्म, आवश्यकता बुझाएर ४२ वटा ब्रोकर थपे । त्यसमा नेता, मन्त्रीले भनेका कम्पनीले तत्कालिन समयमा कागजी पुँजी पुर्याएर भए पनि ब्रोकरको लाइसेन्स पाएका थिए । नयाँ ब्रोकर अहिले सञ्चालनमा आएको २ वर्ष पुग्न नपाउँदै ‘न सञ्चालन गर्नु, न बन्द गरेर हिँडनु’ को स्थितिमा पुगेका छन् ।

ब्रोकरमा लगानी गरेपछि रातारात पैसा कमाएर मालामाल बन्न सकिन्छ भनेर गरेको लगानीले प्रतिफल दिन छोडेपछि अहिले ब्रोकरका सञ्चालकहरु धमाधम आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन थालेका छन् । पुराना ब्रोकर चल्न धौ-धौ परेको समयमा रातारात करोड, अर्बपति बन्न ब्रोकरमा लगानी गरेकाहरु अहिले सेयर बिक्री गरेर यो क्षेत्रबाट बाहिरिन्छु भन्दै धितोपत्र बोर्डमा निवेदन दिन लाइन नै लाग्ने स्थिति बनेको छ ।

ब्रोर्डका अनुसार चालु आर्थिक वर्षमा नयाँ ब्रोकरका २०, २२ जनाले सेयर बिक्री गरेर बाहिरिएका छन् । सेयर बिक्री गर्ने क्रम नयाँ ब्रोकरमा मात्रै होइन, पुरानामा पनि छ । तर, पुरानाले भने आफ्नो स्वामित्वमा रहेको केही प्रतिशत मात्रै सेयर बिक्री गर्न खाेजेका छन् । तर, नयाँ ब्रोकरका संस्थापक लगानीकर्ता भने आफ्नो स्वामित्वमा रहेका सबै सेयर बिक्री गरेर हिँड्नर थालेका छन् ।

‘जुन बेला ब्रोकरले लाइसेन्स पाए, त्यो बेला धितोपत्र बोर्डले तोकेको चुक्ता पुँजी पुर्याउन पनि धेरै व्यक्ति संस्थापक सेयरधनी भएर एउटै कम्पनीमा लगानी गरेको देखियो’ बोर्डका एक उच्च पदस्थ कर्मचारीले भने, ‘त्यो बेला ब्रोकरमा लगानी गरेपछि कमाइ राम्रो हुन्छ भनेर लगानी गरेको र अहिले कमाइ पनि राम्रो नहुने, लगानीको प्रतिफल नहुने, लाभांश नपाउने, आफुले चाहेको समयमा लगानी गरेको पैसा निकाल्न नपाउने भएपछि सेयर बेच्ने क्रम बढेको देखिएको छ ।’

ती कर्मचारीका अनुसार सुरुमा कम्पनी खोल्दा धेरै जना मिलेर खोेलेको र अहिले कतिपय कम्पनीबाट संस्थापकले सेयर बिक्री गरेर निष्कासन गरेका छन् । ब्रोकरले लाइसेन्स पाउनासाथ पुँजी नपुगेर लाइसेन्स फुत्कने डरले धेरै व्यक्ति मिलेर पुँजी पुर्याएको र अहिले सानो हिस्सामा लगानी हुनेहरुको स्वामित्व ठूला सेयरधनीले सकार्नुपर्ने स्थिति बनेको छ ।

अहिले नयाँ ब्रोकरका संस्थापकले बिक्री गरेको सेयर किन्न नयाँ सेयरधनी भित्रनेभन्दा पनि कम्पनीमा हाल कायम रहेका कतिपय सञ्चालकले सकार्ने गरेका छन् । ब्रोकरका सञ्चाकले पहिला भेटेजति सबैलाई सेयरधनी बनाउने गरेका थिए । अहिले बाहिरिन लागेका सञ्चालकको स्वामित्व पनि कम्पनीमा रहनेले नै सकार्ने गरेका छन् ।

बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपाने धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार कुनै व्यक्तिले सेयर बिक्री गर्न चाहन्छ भने कानुनअनुसार पाउने बताए । कानुनले तोकेको व्यवस्था पूरा गरेर सेयर बिक्री गर्न सकिने उनको भनाइ छ ।

अहिले पुरानाभन्दा नयाँ ब्रोकरबाट सेयरधनी बाहिरिने क्रम बढेको एक ब्रोकरले बताए । उनका अनुसार नयाँ ब्रोकरलाई व्यवसाय चलाउन समस्या भएको, कर्मचारी खर्च बढी, प्रविधिमा लागत बढी, दक्ष जनशक्तिको अभाव, दक्ष कर्मचारी पाउँदा बढी लागत हुने, धेरै सेयरधनी हुँदा लाभांश नपाइने भएपछि सेयर बिक्री गरेर बाहिरिने क्रम बढेको उनको भनाइ छ । अहिले अनलाइन कारोबार बढिरहेको छ ।

अनलाइन कारोबार भए पनि भएका ब्राेकरको अस्तित्वमाथि प्रश्न उठ्ने बेला आएका नयाँ ब्रोकर गाउँगाउँमा नपुगी काठमाडौंका चक्रपथभित्र हुँदा नै धेरैका सेयरधनी धमाधम सेयर बिक्री गरेर बाहिरिन थालेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime