Skip to content

ऊर्जा मन्त्रीस्तरीय बैठकः ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जाको पक्षमा एकता, सहयोग र सहकार्य हुनुपर्ने: मन्त्री खड्का

nabil bank

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सांघाई सहयोग संगठन (एससिओ)को सदस्य राष्ट्रको पाँचौंं ऊर्जामन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।

चीनको जेझियाङ प्रान्तको निङ्बो सहरमा आयोजित बैठकलाई आज सम्बोधन गर्दै मन्त्री खड्काले एससिओ सदस्य राष्ट्रको जनसङ्ख्या, स्रोत र सम्भावनालाई दृष्टिगत गरी लगानी प्रबर्द्धन एवं ऊर्जा व्यापारका लागि नवीन सोचसहित क्षेत्रीय ढाँचा निर्माण तथा सहकार्यलाई अझ प्रभावकारी र सुदृढ तुल्याउनुपर्ने खाँचो औंल्याए।

‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’ नाराका साथ सुरु भएको उक्त बैठकमा मन्त्री खड्काले एससिओ सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रबर्द्धनका पक्षमा क्षेत्रीय एकता, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए ।

ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको लिएको नेपालले १५ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी योजना तथा कार्यक्रम अघि बढाएको जानकारी दिए।

नेपालमा हाल करिब तीन हजार ५०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइसकेको र निकट भविष्यमा यो दोब्बर बनाउने योजनाका साथ काम भइरहेको उनले बताए ।

छिमेकी देशहरूसँग विद्युत् व्यापार सुरु गरिसकेको जानकारी दिँदै ऊर्जामन्त्री खड्काले भारतको ग्रिड प्रयोग गरी पहिलोपटक बङ्गलादेशमा विद्युत् निर्यात गरेर त्रिपक्षीय ऊर्जा सहकार्यको नीति कार्यान्वयनमा आएको स्पष्ट गरे।

एससीओको संवाद साझेदार राष्ट्रका रुपमा क्षेत्रीय ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खड्काले आपसी सहयोग र सहकार्यका आधारमा वातावरण सन्तुलन, नवप्रवर्तन, दिगो विकासको अवधारणासहित ऊर्जा क्षेत्रको विकास एवं विस्तारका पक्षमा नेपाल रहेको स्पष्ट गरे । सो बैठकमा भाग लिन मन्त्री खड्का यही असार १० गते मंगलबार चीनतर्फ प्रस्थान गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime