Skip to content

मानिसको डीएनए निर्माणमा उठेका प्रश्न, के यसबाट फाइदा होला ?

nabil bank

एजेन्सी । वैज्ञानिकहरूले कुनै मानवको शरीरको सबैभन्दा महत्वपूर्ण आधार अर्थात् डीएनएलाई प्रयोगशालामा बनाउने विवादास्पद प्रोजेक्टमा काम सुरु गरेका छन् । यो काम पहिलोपटक हुँदैछ ।

अहिलेसम्म यस प्रकारको अनुसन्धानलाई लिएर यसबाट फरक प्रकारका बच्चाहरू जन्मिन सक्छन् भन्ने चिन्ता थियो । एउटा चिन्ता यो पनि थियो कि यसबाट भविष्यका पुस्ताहरूको सामु अप्रत्याशित रूपले परिवर्तन भएका मानिसहरू देखिन सक्छन् ।

तर अब संसारकै सबैभन्दा ठूलो मेडिकल च्यारिटी संस्था, ‘वेलकम ट्रस्ट’ ले यस प्रोजेक्टलाई सुरु गर्नका लागि सुरुवाती रूपमा एक करोड पाउण्ड (करिब ११५ करोड रुपैयाँ) दिएको छ । ट्रस्टले यस किसिमको प्रयोगबाट धेरै गम्भीर रोगहरूको उपचारमा तीव्रता आउने सम्भावना छ र यो नोक्सानभन्दा बढी फाइदाजनक काम हुन सक्ने बताएको छ ।

मानव जातिमा हस्तक्षेपको आशंका
ब्रिटेनको क्याम्ब्रिजस्थित एमआरसी ल्याबोरेटरी अफ मोलिक्युलर बायोलोजीका डाक्टर जूलियन सेल यस परियोजनाको हिस्सा हुन् । उनले यो अनुसन्धान, बायोलोजीको क्षेत्रमा भविष्यको ठूलो फड्को साबित हुन सक्ने बताए । उनको भनाइ छ, “यसमा अपार सम्भावनाहरू छन्, हामी उपचारका त्यस्ता तरिकाहरूमा विचार गरिरहेका छौं जसले मानिसको आयु लम्ब्याउने मात्र नभई उनको जीवनलाई अझ राम्रो बनाउनेछ । मानिसहरू स्वस्थ जीवन बाँच्न सक्नेछन् र उमेर बढ्दै जाँदा शरीरमा रोगहरू पनि कम हुनेछन् ।”

उनले आफूहरु यस अनुसन्धानको प्रयोग रोगहरूसँग लड्ने कोशिकाहरू बनाउनमा गर्न चाहेको बताएका थिए । “यी कोशिकाहरूको प्रयोग हामी क्षतिग्रस्त अंगहरू, जस्तै कलेजो र मुटु, यहाँसम्म कि रोग प्रतिरोधक प्रणाली (इम्यून सिस्टम) पुनः सुधार गर्नका लागि गर्न सक्छौं ।”

तर आलोचकहरू अनुसन्धान अनैतिक कार्य गर्ने अनुसन्धानकर्ताहरूको लागि उन्नत वा परिमार्जित जातिको मानव बनाउने बाटो खोल्न सक्नेमा डराइरहेका छन् । यस अभियानमा संलग्न समूह ‘बियन्ड जीएम’ की निर्देशक डाक्टर प्याट थोमसको भनाइ छ, “हामी बुझ्छौं कि सबै वैज्ञानिक राम्रो काम गर्नका लागि छन्, तर यस विज्ञानको प्रयोग नोक्सानदायक काम र युद्धका लागि पनि गर्न सकिन्छ ।”

ठूलो सफलता प्राप्त हुने आशा
हाम्रो शरीरका रातो रक्त कोशिकाहरू (आरबीसी) बाहेक प्रत्येक कोशिकामा डीएनए हुन्छ, जसमा आवश्यक आनुवंशिक जानकारी हुन्छ । डीएनए केवल चार धेरै साना ब्लकहरूबाट बनेको हुन्छ जसलाई ए, जी, सी, र टी भनिन्छ । यही विभिन्न संयोजनमा पाइन्छन् र अचम्मको कुरा यो हो कि यसमा त्यो सम्पूर्ण आनुवंशिक जानकारी हुन्छ, जसले हाम्रो शरीरलाई बनाउँछ ।

ह्युमन जिनोम प्रोजेक्टले वैज्ञानिकहरूलाई बारकोड जस्तै सबै मानव जीनहरू पढ्ने क्षमता दिएको थियो । अब सिन्थेटिक ह्युमन जिनोम प्रोजेक्ट नामक नयाँ कार्यबाट केही ठूलो सफलता हासिल हुने सम्भावना पनि व्यक्त गरिएको छ ।

यसबाट अनुसन्धानकर्ता न केवल डीएनएका प्रत्येक अणुको अध्ययन गर्न सक्नेछन्, तर तिनीहरू यसको केही भागहरू बनाउन पनि सक्नेछन् । सायद एक दिन यो अणुको सानो अंशबाट पूरै डीएनए बनाउन सक्ने क्षमता पनि दिनेछ । जबसम्म वैज्ञानिकहरूले कृत्रिम रूपमा मानव क्रोमोसोम नबनाउन्, तिनीहरूको पहिलो लक्ष्य मानव डीएनएका अझै ठूला ब्लकहरू बनाउने तरिका विकास गर्नु हो ।

यीमा ती जीनहरू हुन्छन् जसले हाम्रो शरीरको विकास, बिरामी वा क्षतिग्रस्त अंगहरूको सुधार र यसको स्वास्थ्यलाई नियन्त्रण गर्छन् । त्यसपछि तिनीहरूको अध्ययन र प्रयोग गरेर यो बुझ्ने प्रयास गरिनेछ कि जीन र डीएनएले हाम्रो शरीरलाई कसरी नियन्त्रण गर्छ ।

गलत उद्देश्य भएका मानिसहरूलाई रोक्न गाह्रो
वेलकम सेंगर इन्स्टिच्युटका निर्देशक प्रोफेसर म्याथ्यू हल्र्स, जसले मानव जीनोमको सबैभन्दा ठूलो अंशको सिक्वेन्सिङ गरेका हुन् । उनको भनाइ छ कि धेरै रोगहरू तब हुन्छन् जब जीनमा केही गडबडी हुन्छ, त्यसैले यी अध्ययनहरूले उपचारको प्रक्रिया अझ राम्रो बनाउन सक्छ । उनले भने, “शून्यबाट सुरु गरेर डीएनए निर्माण गर्दा हामीलाई यो थाहा पाउने मौका मिल्छ कि डीएनए वास्तवमा कसरी काम गर्छ, अहिलेसम्म हामी केवल पहिलेदेखि नै अस्तित्वमा रहेका डीएनएमा हेरफेर गरेर केही बुझ्ने प्रयास गरेका थियौं ।”

उनका अनुसार यस प्रोजेक्टको कार्य टेस्ट ट्युब र डिशसम्म सीमित रहनेछ र कृत्रिम रूपमा कसैलाई जन्म दिने प्रयास गरिने छैन । तर यो प्रविधिले अनुसन्धानकर्ताहरूलाई मानव जीवनमा यस्तो नियन्त्रण दिन सक्छ, जुन पहिले कहिल्यै थिएन । यद्यपि प्रोजेक्टको उद्देश्य राम्रो उपचारको तरिका खोज्नु हो, तैपनि वैज्ञानिकहरूलाई यसको दुरुपयोगबाट रोक्ने कुनै सुनिश्चित उपाय छैन ।

एडिनबरा विश्वविद्यालयका जेनेटिक वैज्ञानिक प्रोफेसर बिल अर्नशॉ, जो यस क्षेत्रमा काम गर्नेहरूबीच निकै सम्मानित छन्, उनले कृत्रिम मानव क्रोमोसोम बनाउने तरिका विकास गरेका हुन् । उनको भनाइ छ, “गलत मानिसहरूले यस प्रविधिबाट जैविक हतियार, उन्नत मानव र यहाँसम्म कि मानव डीएनए भएका अन्य जीवहरू बनाउन प्रयास गर्न सक्छन् ।”

यदि कृत्रिम मानव बनाइयो भने ?
प्याट थोमस यस कुरालाई लिएर चिन्तित देखिन्छन् कि उपचारका तरिकाहरू विकास गर्ने स्वास्थ्य सेवासँग सम्बन्धित कम्पनीहरूले यस प्रविधिबाट फाइदा उठाउने प्रयास गर्न सक्छन् । उनी भन्छिन्, “यदि हामी शरीरका कृत्रिम अंगहरू, यहाँसम्म कि कृत्रिम मानव बनाउन सफल भयौं भने, प्रश्न उठ्छ कि त्यसको मालिक को हुनेछ ?”

भविष्यमा यस प्रविधिको सम्भावित दुरुपयोगको आशंकाबीच यो प्रश्न पनि उठ्छ कि वेलकम ट्रस्टले यसलाई आर्थिक सहयोग किन दियो ? यसका लागि सहयोग दिने निर्णय गर्ने डाक्टर टम कोलिन्सका अनुसार यो निर्णय बिना सोच–विचार गरिएको थिएन ।

उनका अनुसार कुनै न कुनै दिन यो प्रविधि विकसित हुनेछ नै । त्यसैले यसलाई अहिले विकसित गरेर हामी जहाँसम्म सम्भव हुन्छ यो जिम्मेवारीपूर्वक गर्ने प्रयास गरिरहेका छौं । यससँगै जहाँसम्म सम्भव छ हामी नैतिकता र आचरणसँग सम्बन्धित प्रश्नहरूमा पनि विचार गरिरहेका छौं ।

यस प्रोजेक्टमा वैज्ञानिक अनुसन्धानसँगै एक सामाजिक विज्ञान कार्यक्रम पनि सञ्चालन गरिनेछ । जसको नेतृत्व केन्ट विश्वविद्यालयमा समाजशास्त्रका प्रोफेसर जोय जागले गर्नेछन् । प्रोफेसर जोयको भनाइ छ, “हामी विज्ञहरू, समाज विज्ञानिहरू र विशेष गरी आम जनताको विचार जान्न चाहन्छौं कि उनीहरू यस प्रविधिसँग आफूलाई कसरी जोड्छन्, यो उनीहरूका लागि कसरी लाभदायक हुनसक्छ ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime