एजेन्सी । सामसुङले बुधबार तीनवटा नयाँ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै भविष्यको मोबाइल प्रविधिको दिशातर्फ अग्रसर भएको संकेत दिएको छ । कम्पनीले नयाँ ग्यालेक्सी जेड फोल्ड ७ (२ हजार डलर), ग्यालेक्सी जेड फ्लिप ७ (११ सय डलर) र ग्यालेक्सी जेड फ्लिप ७ एफइ (नौ सय डलर)को घोषणा गरेको हो । यी फोनहरु यही जुलाई २५ मा बजारमा उपलब्ध हुनेछन् भने जुलाई ९ देखि बुकिङ सुरु भइसकेको छ ।
तर सामसुङ अहिले तीव्र प्रतिस्पर्धाको सामना गरिरहेको पनि छ । चिनियाँ कम्पनीहरूको दवावसँगै एप्पलले पहिलो फोडेबल आइफोन ल्याउने तयारी गरिरहेको खबरले पनि सामसुङलाई सतर्क बनाएको छ । यद्यपि एप्पलले अहिलेसम्म त्यस्ता फोन ल्यााउनेबारे औपचारिक घोषणा गरेको छैन ।
सामसुङले झन्डै ५ वर्षदेखि फोडेबल फोनलाई मुख्यधारमा ल्याउने प्रयास गर्दै आएको छ । फोनलाई दुई भागमा मोड्न सकिने र कहिले ट्याब्लेटका रूपमा त कहिले सानो मोबाइलको रूपमा प्रयोग गर्न सकिने विशेषताले बजारमा छुट्टै पहिचान बनाएको भए पनि, अझैसम्म पनि यस्ता फोनको बजार हिस्सा निकै सानो छ ।
अन्तर्राष्ट्रिय तथ्याङ्क संस्था आइडीसी र काउन्टरप्वाइन्ट रिसर्चका अनुसार यस्ता फोनहरूको बजार हिस्सा अहिलेसम्म २ प्रतिशतभन्दा कम छ ।
आईडीसीको अनुमानअनुसार सन् २०२८ सम्म कुल ४५.७० लाख फोडेबल फोनहरू बिक्री हुनेछन्, जुन सन् २०२४ मा वितरण भएका १ अर्ब २० करोड स्मार्टफोनको तुलनामा निकै कम हो ।
सामसुङ मोबाइल विभागका प्रमुख वोन–जुन छोईले भने, “ग्यालेक्सी फोल्ड ७ र फ्लिप ७ का साथ हामी मुख्यधारमा प्रवेश गर्ने मोडमा पुगेका छौं ।” ग्यालेक्सी जेड फोल्ड ७ मा ८ इन्चको भित्री पर्दा रहेको छ, जुन अघिल्लो भर्सनको ७.६ इन्चभन्दा ठूलो हो । जेड फ्लिप ७ मा बाहिरी भागमा ४.१ इन्चको पूर्ण पर्दा र भित्री भागमा ६.९ इन्चको पर्दा राखिएको छ ।
यी सुधारले मोडिएको अवस्थामा पनि फोनलाई सामान्य बारफोन जस्तै देखिने बनाएको छ । छोईले भने, “यो एक वर्षमै बनाइएको उत्पादन होइन, यसका लागि नयाँ भागहरू र नयाँ सामग्री प्रयोग गरेर लामो समयदेखि काम गरियो ।”
यसपटक सामसुङले फोल्ड ७ मा क्वालकम प्रोसेसर र फ्लिप ७ मा आफ्नै इक्सिनोस प्रोसेसर प्रयोग गरेको छ । सप्लाइ चेनको कारण यस्तो गरिएको कम्पनीको भनाइ छ ।
ग्यालेक्सी जेड फ्लिप ७ एफइ नामक सस्तो संस्करण पनि यसपटक पहिलो पटक सार्वजनिक गरिएको छ, जसमा पुरानो डिजाइन र प्रोसेसर राखिएको छ ।
फोल्ड ७ को मूल्य अघिल्लो संस्करणको तुलनामा १०० अमेरिकी डलर बढी छ । सामसुङले यसको कारण हार्डवेयरमा सुधार, पातलो बनावट र उच्च गुणस्तरको क्यामेरा भएको बताएको छ । आईडीसी का विश्लेषक फ्रान्सिस्को जेरोनिमोका अनुसार, पहिले मोडिने फोनहरू सस्ता हुँदै जाने अपेक्षा थियो, तर अहिले महँगो हुँदै गएका छन् ।
प्रतिक्रिया दिनुहोस्