काठमाडौं । बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति (नन बैंकिङ एसेट) एनबिए एक वर्षमा १८ अर्ब रुपैयाँले बढेको छ । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति गत आर्थिक वर्षको ११ महिनासम्म ४६ अर्ब ९९ करोड रुपैयाँभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह गरेको रकम विभिन्न कारणवश असुल हुन नसकी ऋणीले ऋण लिने क्रममा वित्तीय संस्थालाई धितो स्वरूप राखेको जग्गा तथा जायजेथालाई धितो लिलामीको समयमा बैंकबाट सकार गरी लिएको सम्पत्तिलाई गैरबैंकिङ सम्पत्ति भनिन्छ ।
बैंकहरुको यस्तो सम्पत्ति अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म २८ अर्ब ७३ करोड ५२ लाख रुपैयाँ मात्र रहेको थियो । एक वर्षको अवधिमा बैंकिङ क्षेत्रको एनबिए १८ अर्ब २५ करोड ५० लाख रुपैयाँको हाराहारीमा बढेको हो । पछिल्लो केही वर्षयता बैंकको खराब कर्जा पनि बढ्दो क्रममा रहेको छ । बैंकको खराब कर्जा बढ्दा गैर बैंकिङ सम्पत्ति पनि बढेको हो ।
एक वर्षको अवधिमा सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुमध्ये १७ वाणिज्य बैंकको एनबिए बढेको छ । एक बैंकको गैर बैंकिङ सम्पत्ति शून्य रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ । यस अवधिसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकको कुनै पनि गैर बैंकिङ सम्पत्ति छैन् ।
एक वर्षको अवधिमा दुई वाणिज्य बैंकले भने गत वर्षको तुलनामा यस्तो सम्पत्ति घटाउन सफल भएका छन् । माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले एनबिए एक वर्षको तुलनामा घटाएका हुन् । माछापुच्छ्रे बैंकले एक वर्षमा लगभग ३० करोड रुपैयाँ बराबरको एनबिए घटाएको छ । यस बैंकको एनबिए चालु आवको ११ महिनासम्म ९६ करोड ७९ लाख रुपैयाँको हाराहारीमा रहेको छ । गत आर्थिक वर्षको ११ महिनासम्म यसको एनबिए १ अर्ब २६ करोड रुपैयाँको हाराहारीमा रहेको थियो ।
यसैगरी, सिद्धार्थ बैंकको एनबिए यस अवधिमा ७२ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यसको एनबिए ७८ करोड ८९ लाख रुपैयाँ रहेको थियो । यस बैंकको गैरबैंकिङ सम्पत्ति गत आर्थिक वर्षको तुलनामा ६ करोड ४२ लाख रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यस अवधिमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति भएको वाणिज्य बैंक हिमालयन बैंक रहेको छ । यस बैंकको एनबिए ५ अर्ब ३१ करोड रुपैयाँभन्दा माथि रहेको छ । बैंकको यस्तो सम्पत्ति गत आर्थिक वर्षको ११ महिनाको तुलना ३ अर्ब ६२ करोड रुपैयाँभन्दा धेरैले बढेको छ । गत आर्थिक वर्षमा यसको यस्तो सम्पत्ति १ अर्ब ६९ करोड मात्र थियो । एक वर्षको अवधिमा सबैभन्दा धेरै गैर बैंकिङ सम्पत्ति बढ्ने बैंकको ‘लिस्ट’ मा पनि हिमालयन बैंक परेको छ ।
यसैगरी, चालु आवको ११ महिनासम्म आउँदा विकास बैंकहरुको गैरबैंकिङ सम्पत्ति दोब्बर बढेको छ । गत आर्थिक वर्षको ११ महिनामा २ अर्ब ५२ करोड १७ हजार रुपैयाँ रहेको विकास बैंकको यस्तो सम्पत्ति चालु आवको ११ महिनामा आउँदा ५ अर्ब ५४ करोड १९ लाख रुपैयाँ पुगेको छ । एक वर्षमा विकास बैंक तर्फको एनबिए २ अर्ब ९३ करोड रुपैयाँले बढेको छ ।
हाल सञ्चालनमा १७ वटा विकास बैंकमध्ये एक वर्षको अवधिमा ४ विकास बैंकले भने एनबिए घटाउन सफल भएका छन् । बाँकी सबै विकास बैंकको बढेको छ । यस अवधिमा सबैभन्दा धेरै एनबिए बढ्ने विकास बैंक कर्णाली विकास बैंक रहेको छ । यस गत आर्थिक वर्षको ११ महिनासम्म शून्य रहेको यस विकास बैंकको गैर बैकिङ सम्पत्ति चालु आवको ११ महिनामा आउँदा १ अर्ब ६७ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्म एक अर्बभन्दा धेरै गैर बैकिङ सम्पत्ति भएको विकास बैंकमा पनि कर्णाली विकास बैंक नै परेको छ ।
यसैगरी, यस अवधिमा फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति पनि १ अर्ब २६ करोड ५४ लाख रुपैयाँले बढेको छ । यस अवधिमा सबैभन्दा धेरै एनबिए गुडविल फाइनान्स कम्पनीको बढेको छ । यस कम्पनीको यस्तो सम्पत्ति ४७ करोड ८० लाख रुपैयाँले बढेको राष्ट्र बैंकले जनाएको छ । वेष्ट फाइनान्स कम्पनीले भने गत आर्थिक वर्षको ११ महिनाको तुलनामा यस आर्थिक वर्षको ११ महिनासम्म आउँदा आफ्नो गैर बैैंकिङ सम्पत्ति घटाउन सफल भएको छ ।
यस अवधिमा यस फाइनान्स कम्पनीको गैर बैंकिङ सम्पत्ति ७ लाख रुपैयाँले घटेको छ । यस अवधिमा ७ वटा फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति १० करोड रुपैयाँभन्दा माथि रहेको छ भने बाँकी फाइनान्स कम्पनीको यस्तो सम्पत्ति १० करोड रुपैयाँभन्दा कम रहेको छ ।






प्रतिक्रिया दिनुहोस्