काठमाडौं । वाणिज्य बैंकको नयाँ ब्याजदर आजदेखि लागू भएको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर आज साउन १ गतेदेखि लागू भएको हो । अधिकांश बैंकले असारको तुलानामा साउनमा मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् । औषतमा ब्याजदर ०.२०४ प्रतिशतले घटेको छ ।
असारमा औषतमा बैंकको ब्याजदर मुद्दती निक्षेपमा ५.९०२ प्रतिशत रहेको थियो । साउनमा घटेर ५.६९७ प्रतिशत रहेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा १४ वटा बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार ४ वटा बैंकको ब्याजदर स्थिर रहेको छ भने २ वटा बैंकको ब्याजदर बढेको छ । ब्याजदर बढाउनेमा स्टयान्डर्ड चार्टर्डको ६.२६ र हिमालयन बैंक ६ प्रतिशत रहेको छ । अहिलेसम्म सबैभन्दा बढी ब्याज दिनेमा स्टयान्डर्ड चार्टर्ड रहेको छ ।
यस्तै ब्याजदर स्थिर राख्नेमा माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबी बैंक छन् । माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक र एनएमबी बैंकको ब्याजदर ६.६ प्रतिशत र सिद्धार्थ बैंकको ५.७५ प्रतिशत रहेको छ । सबैभन्दा धेरै ब्याजदर प्रभु बैंकले १.८५ प्रतिशतबिन्दुले घटाएको छ । असारमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.१ प्रतिशतसम्म रहेको ब्याज साउनमा ४.२५ प्रतिशत रहने छ । नयाँ ब्याजदर भोलि साउन १ गतेदेखि लागू हुनेछ ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदरलाई ६।५ प्रतिशतबाट घटाई ६।० प्रतिशत र ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३।० प्रतिशतबाट घटाई २।७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्