काडमाडौं । आईएमई पे र खल्ती वालेट मर्ज भई आज बाट ‘खल्ती बाइ आईएमई’ नाममा एकीकृत कारोबार सुरू भएको छ । यसरी एउटै एपमा समेटिएपछि साबिकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।
यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आईएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ । यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने छ ।

यी दुई वालेट मर्जरमा जानु अघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए । ब्याज दिने एकमात्र वालेटको रूपमा चिनिएको आईएमई पेरेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा रुचाइएको थियो ।

अब यी दुवै वालेट मर्ज भएर आ-आफ्ना उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत, सहज, सरल र सुरक्षितरूपमा प्रदान गर्नेछन् । साबिक आईएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आईएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ । यस प्रक्रियामार्फत आईएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन् । खल्ती प्रयोगकर्ताहरूले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्ने छन् ।
आईएमई पे आईएमई ग्रुपअन्तर्गत सञ्चालन हुँदै आएको थियो । अर्कोतर्फ, चारजना सह-संस्थापकद्वारा स्थापना गरिएको खल्तीमा पछि वल्डलिंक, त्रिवेणी ग्रुपजस्ता कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए ।

आईएमई डिजिटल सोलुसन्स का अध्यक्ष कृष्णप्रसाद शर्माले आईएमई पे र खल्तीबीचको मर्जरबाट बनेको आईएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास जनाए ।
खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको र आईएमई खल्ती लिमिटेडले देशभर वित्तीय पहुँचको नयाँ युग सुरू गर्ने बताए ।
आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिए । दुवै कम्पनीले आज विशेष कार्यक्रम आयोजना गरी मर्जरको औपचारिक घोषणासमेत गर्ने छन् ।






प्रतिक्रिया दिनुहोस्