काठमाडौं । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिकामा सञ्चालनमा आउन लागेको बन्दिपुर केबलकारको प्रक्षेपित वित्तीय विवरण सकारात्मक रहने कम्पनीले जनाएको छ ।
हाल ऋणात्मक रहेको प्रतिसेयर आम्दानी क्रमशः सुधार गर्ने र प्रतिसेयर नेटवर्कमा पनि सुधार गर्ने कम्पनीको प्रक्षेपण रहेको हो ।
कम्पनी प्रभावित क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि आईपीओ जारी गर्दै आगामी आर्थिक वर्षहरूमा क्रमशः कम्पनीको प्रति सेयर नेटवर्थ, प्रतिसेयर आम्दानी र नाफा बढ्ने प्रक्षेपण गरेको छ ।
यस कम्पनीले सञ्चालन गर्ने आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको जानकारी दिएको छ । यस आयोजनामा साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको कम्पनीले जनाएको छ । यता डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि भने १०.५ वर्ष रहेको छ ।
यस कम्पनीको २०८१/८२ को तेस्रो त्रैमाससम्म ९२.४१ रुपैयाँ नेटवर्थ रहेको छ । यस कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ मा ९३.०२ रुपैयाँ नेटवर्थ हुने प्रक्षेपण गरेको छ । यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको नेटवर्थ १०१.७० रुपैयाँ र आर्थिक वर्ष २०८३/८४ मा ११७.९७ रुपैयाँ रहने प्रक्षेपण गरेको छ ।
यसैगरी, गत आर्थिक वर्षको चैत मसान्तसम्म यस कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ २३ पैसाले ऋणात्मक रहेको छ । यस कम्पनीले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म मा पनि आफ्नो प्रतिसेयर आम्दानी २ रुपैयाँ २३ पैसाले ऋणात्मक हुने प्रक्षेपण गरेको छ । यसपछि कम्पनीको यस्तो आम्दानी क्रमशः सुधार तर्फ जाने कम्पनीको विश्वास रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को अन्त्य देखी कम्पनीको प्रतिसेयर आम्दानी सुधार हुने कम्पनीको प्रक्षेपण रहेको छ । यस आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २४ पैसा रहने कम्पनीको प्रक्षेपण रहेको छ । आर्थिक वर्ष २०८३/८४ मा कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ २७ पैसा रहने कम्पनीले प्रक्षेपण गरेको छ ।
यस कम्पनीको अध्यक्षमा रामचन्द्र शर्मा रहेका छन् । यसैगरी, सञ्चालकमा शिव प्रशाद शर्मा, तारा नाथ उपाध्याय, कृष्ण राज अधिकारी, हरिदत्त पौडेल र रमा सापकोटा रहेका छन् भने स्वतन्त्र सञ्चालकमा बाबुराम अर्याल छन् ।
यस कम्पनीमा सबैभन्दा धेरै संस्थागत सेयर स्वामित्व आरकेडी होल्डिंग्स कम्पनीको रहेको छ । यस कम्पनीको सेयर स्वामित्व १६.१३ प्रतिशत रहेको छ । यसैगरी, टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेडको सेयर स्वामित्व ४.५१ प्रतिशत, पञ्चासे केबल कार एंड टुर्स लिमिटेडको २.२४ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी २.२३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यसैगरी, व्यक्तिगत तर्फ रोशन घिसिङको १.५६ प्रतिशत र रामचन्द्र शर्मा (अध्यक्ष)को १ लाख ८७ हजार कित्ता सेयर स्वामित्व रहेको छ। यसैगरी, सञ्चालक शिव प्रशाद शर्माको ८७ हजार ७१० कित्ता, तारा नाथ उपाध्यायको २५ हजार कित्ता, कृष्ण राज अधिकारीको ३९ हजार कित्ता र हरिदत्त पौडेल ४३ हजार ५०० कित्ता सेयर स्वामित्व रहेको छ ।
प्रतिक्रिया दिनुहोस्