काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोशी जलविद्युत योजनाका सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन्। उनले सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायतको संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तैयारी हालतमा रहन उनले निर्देशन दिएका छन् ।
पूर्णतयाः स्वदेशी सीप र पुँजीबाट बन्ने सर्वाधिक ठूलो अयोजनाको रुपमा रहेको यो आयोजनाले बुधबार उत्पादनका लागि सम्पूर्ण तयारी पूुरा गरेको थियो । कार्यकारी निर्देशक शाक्यले आयोजनाअन्तर्गतको ७.२ किलो मिटरको सुरुङमा पानी चुहिने–नचुहिने सुनिश्चित गर्न निर्देशन दिएका थिए।
यसका साथै उनले पावरहाउस लगायतका सबै पूर्वाधारहरु भोटेकोशीमा आउन सक्ने बाढीबाट प्रभावित नहुने गरी आवश्यक व्यवस्था गर्न समेत निर्देशन दिएका हुन्। पावर हाउसलाई स्लाडिङ व्यारिकेडहरु बनाएर तथा अन्य क्षेत्रमा आउनसक्ने बाढीबाट आयोजनाका संरचना जोगाउन निर्देशन पनि उनले दिए ।
लामो समयको प्रतिक्षापछि उत्पादन सुरु गर्न लागेको मध्य भोटेकोशी आयोजना कुल उत्पादन क्षमता १ सय २ मेगावाट हो । बाध मार्मिङ–९ चाकुमा र पावर हाउस जम्बुमा रहने आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
आयोजना निर्माणको काम केही महिना अघि नै सम्पन्न भए पनि प्रसारण लाइनको टुंगो नलागेका कारण उत्पादन सुरु भएको थिएन । सुरुमा बाह्रविसे – लप्सिफेदी प्रसारण लाइनबाट विद्युत प्रणालीमा जोडने लक्ष्य भए पनि स्थानीयसँग सहमति हुननसके पछि लामोसाँघुतर्फबाट ल्याउने प्रयास भएको थियो । त्यहाँ समेत सम्भव नभपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यू खिम्ती ४०० केभी सवस्टेशन हुँदै ढल्केवर प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडन लागिएको हो ।
विसं २०७० देखि निर्माण सुरु भएको आयोजनामा २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढी–पहिरो तथा कोभिड–१९ महामारीको चपेटा आदि समस्या र पछिल्लो पटक प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुनसकेको थिएन ।







प्रतिक्रिया दिनुहोस्